विराटनगरका मुख्य चोकमा केही समय तनाव : प्रहरीले लियो स्थिति नियन्त्रणमा, संयम अपनाउन प्रशासनको आग्रह
पूर्वाञ्चल खबर
१५ श्रावण २०८३, शुक्रबार १२:२७
126
Shares
तस्वीर : पत्रकार अनुज सापकोटा फेसबुकबाट
विराटनगर/ सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा भएका पछिल्ला घटनाहरूको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ । आन्दोलित पक्षले विराटनगरका मुख्य व्यापारिक क्षेत्रमा टायर बालेर विरोध जनाएपछि केही समय नगरको अवस्था तनावपूर्ण बनेको थियो ।
आज विहान विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि र मुख्य चोकका रूपमा चिनिने ट्राफिक चोक क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए । देवानगञ्ज–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको र सिराहाको गोलबजारमा भएको घटनालाई लिएर आक्रोशित समूहले प्रदर्शन गरेको हो ।
प्रदर्शनका कारण विराटनगरको मुख्य बजार क्षेत्रका पसलहरू केही समय बन्द भएका थिए भने सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । स्थिति अनियन्त्रित हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रदर्शन सुरु भएको केही समयभित्रै प्रहरीले हस्तक्षेप गरी बालिएका टायर निभाएर स्थिति नियन्त्रणमा लिएको छ ।
अहिले विराटनगरका मुख्य चोक र संवेनदशील मानिएका स्थानहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मोरङ प्रहरीले सम्भावित अप्रिय घटना हुन नदिन र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निरन्तर ‘पेट्रोलिङ’ गरिरहेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले पछिल्लो घटनाक्रमलाई लिएर सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । प्रशासनले सामाजिक सञ्जालमा आउने अफवाहहरूको पछि नलाग्न, शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न र सामाजिक सद्भाव बिग्रिने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणमा अपिल गरेको छ ।
सुनसरी घटनामा गृहमन्त्रीसँगको सहमतिपछि स्थिति सामान्य बन्ने अपेक्षा गरिए पनि त्यसको राप विराटनगरसम्म आइपुगेको हो । हाल बजार क्षेत्र बिस्तारै सामान्य बन्दै गए पनि सुरक्षा निकायले उच्च सतर्कता अपनाइरहेको छ ।