AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरीको देवानगन्जमा भएको गोलीकाण्डको विरोधमा कोशी कटान क्षेत्रको पसलमा आगजनी र तोडफोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ श्रावण २०८३, मंगलवार १७:०४
3
Shares
इटहरी / सुनसरीको देवानगन्ज गाउँपालिका–३ मा भएको गोलीकाण्डको विरोधमा आज सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा ठूलो तनाव उत्पन्न भएको छ ।

प्रदर्शनका क्रममा उग्र समूहले बजार क्षेत्रका पसलमा आगजनी तथा तोडफोड गरेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । एक्कासि आएको समूहले कोशी कटान बजारमा रहेका स्थानीय व्यवसायीहरू सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका पसलहरूलाई लक्षित गरी आगजनी एवं तोडफोड गरेको स्थानीय पत्रकार धर्मेन्द्र मेहताले बताए ।

घटनाबाट पसलभित्र रहेका सामग्री जलेर नष्ट भएका छन् भने व्यवसायीलाई ठूलो आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी बढाएको जनाएको छ भने स्थानीय प्रशासनले थप अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

यसअघि देवानगन्जमा दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त क्रममा देवानगन्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा गोली लागेर नौ जना घाइते भएका छन् भने १३ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

गोलीकाण्डपछि सुनसरी, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी छ। केही स्थानमा प्रदर्शन हिंसात्मक बनेर आगजनी, तोडफोड तथा आक्रमणका घटना भएको प्रहरीले जनाएको छ ।

प्रशासनले घटनामा संलग्न व्यक्तिको पहिचान तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता कायम राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

घटनाको विरोधमा सुनसरी, मोरङसहित विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ । आन्दोलनका नाममा विभिन्न स्थानमा आक्रमण, आगजनी र तोडफोडका घटनासमेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर