पूर्वाञ्चल खबर
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिएकी छन्।
समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। घटनापछि गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा प्रमुखसँग छलफल गरेका थिए। सोही छलफलपछि छानबिन समिति गठन गरिएको हो।
घटनाबारे थप छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ। बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गरी आवश्यक रणनीति तय गरिने बताइएको छ।
कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् भने झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी घाइते भएका छन्।
घटनापछि स्थानीय प्रशासनले कप्तानगन्जसहित सुनसरीका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युका बाबजुद विभिन्न स्थानमा प्रदर्शन भएपछि अवस्था तनावग्रस्त बनेको थियो।
घटनाको विरोधमा स्थानीयले प्रदर्शन र राजमार्ग अवरुद्ध गरेपछि नेपाली सेनासमेत परिचालन गरिएको थियो। प्रशासनले स्थिति नियन्त्रणमा लिइएको जनाएको छ।
यसैबीच कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् ।