जनताको चाहना, जनताको समस्यालाई यथार्थ ढंगले हल गर्छु- लिम्बु
पूर्वाञ्चल खबर
८ बैशाख २०७४, शुक्रबार १७:१६
3
Shares
मोरङको साविकका पथरी–शनिश्चरे नगरपालिका र हसन्दह गाविस मिलाएर बनेको पथरी–शनिश्चरे नगरपालिकामा जहरमान लिम्बू अपरिचित नाम हैन । २००६ साल फागुनमा ताप्लेजुङमा जन्मिएका लिम्बू २०३१ सालदेखि सो क्षेत्रका सामाजिक र राजनीतिक गतिबिधिमा सक्रिय हुनुहुन्छ । सो क्षेत्रको किसान आन्दोलन र सुकुम्बासी आन्दोलनका अग्रणी लिम्बूलाई नेकपा माओवादी केन्द्रले नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ ।
२०३९ सालमा शनिश्चरे गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका उनी २०५४ सालमा नेकपा एमालेबाट गाविस उपाध्यक्ष बनेका थिए । हाल पार्टीको केन्द्रीय सल्लाहकार तथा नगर संयोजक रहेका लिम्बू सो क्षेत्रको कतिपय विद्यालय, बजार र सामाजिक संस्था स्थापना गर्ने व्यक्तित्व हुन् । उनीसँग आगामी निर्वाचनको बारेमा गरेको कुराकानीः
पथरी शनिश्चरे नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ । तयारी के गरिरहनु भएको छ ? जनताको प्रतिक्रिया के छ ?
अहिले अनौपचारिक भेटघाट चल्दैछ । बसोबासको समस्या म बाट मात्रै समाधान हुने जनताले आशा गरेका छन् । त्यसो भएको कारण म निर्वाचित हुने कुरामा जनताको सकारात्मक प्रतिक्रिया रहेको छ ।
यसअघि एमालेले जितेको क्षेत्र पनि हो पथरी शनिश्चरे । तपाईले जित्ने आधार के छ ?
मेरो जित्ने आधार भनेको म सँग चुनावी मुद्दा जनताको सरोकारसँग जोडिएको, जनताको चाहना, जनताको समस्यालाई यथार्थ ढंगले हल गर्ने योजना भएको कारण निर्वाचन जित्छु ।
के छ त्यस्तो योजना ?
पथरी शनिश्चरे नगरपालिका क्षेत्रको भूगोल लामो समयदेखि बसोबासको समस्या छ । त्यो समस्या अहिलेसम्म कसैले समाधान गर्न सकेको छैन । अहिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ र स्थानीय तहले त्यो समाधान गर्न सक्छ । त्यही काम गर्ने मेरो पहिलो प्राथमिकता छ । त्यसपछि अहिलेसम्म योजना तर्जुमा गर्ने, बजेट विनियोजन गर्ने काम ब्यूरोक्रेसीको हातमा थियो । पहुँचवालाले पक्षपात पूर्ण ढंगले बजेट आफूले लान्थे । अब त्यस्तो हुँदैन । हाम्रो नीति नै सहर र गाउँबीचको सम्बन्ध समान बनाउन सहर केन्द्रीत निर्माण र सुविधाहरु अब गाउँमा पनि उपलब्ध गराउँछौं । बक्राहा नदी र डाँस खोलाबाट पीडित जनताको समस्या समाधान गर्न बाँध निर्माण गर्ने, बाटोघाटो पुल पुलेसा निर्माण गर्ने अनेक योजना हामीसँग छ । चुनाव जित्ने आधार नै हाम्रो योजना हो ।
यसअघि पनि तपाइँ जनप्रतिनिधिको रुपमा हुनुहुन्थ्यो । जनताका समस्या समाधान गर्न त्यसबेला के के गर्नुभयो ?
त्यस क्षेत्रको बसोबासको समस्या समाधान गर्न मैले ३६ सालदेखि पहल गर्दै आएको छु । तर, कुनै सरकारले समस्या समाधानमा तदारुकता देखाएर । अब संघीय प्रणालीमा देश गएको छ र अधिकार पनि दिएको छ । जसकारण मेरो नेतृत्वमा नगरपालिका हाँक्ने जिम्मेवारी आइपुग्यो भने म सँग योजना छ, इच्छाशक्ति छ, तदारुकता छ र यो समस्या हल गर्ने मेरो योजना पुरा हुन्छ ।
पथरीशनिश्चरे नगरपालिकाकालाई विकसित र उन्नत बनाउन कुनै औद्योगिक क्षेत्र निर्माण गर्ने र कृषिलाई आधुनिकीकरण गर्ने, वनको उचित व्यवस्थापन गर्नेसम्बन्धी तपाईको धारणा र योजना के छ ?
पहिला त कृषि क्षेत्रमा जमिन माथिको जनताको स्वामित्व कायम गर्ने र उसको बसोबासको स्थायित्व गर्ने हो । त्यसपछि कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीक, औद्योगिकीकरण गर्ने, सम्बन्धीत विशेषज्ञको सल्लाहबाट र हाम्रो पार्टीको कृषिलाई आधुनिकीकरण गर्ने जुन नीति कार्यक्रम छ त्यसअन्तर्गत कृषि पेशालाई परिमार्जन गर्ने योजना नै हुनेछ । त्यति मात्रै नभएर कृषिलाई औद्योगिकरण गर्ने विषयमा सिंचाईं, बाटो, शिक्षा, स्वास्थ्यको क्षेत्रमा लगानी गरी सहज र सुलभ तरिकाले जनतालाई सेवा प्रदान गर्ने नीति अबलम्वन गर्ने । विस्तारै जनताको आर्थिकस्तर उकास्ने कार्यक्रमहरु अबलम्बन गर्ने यसरी नै नगरलाई एउटा सुविधासम्पन्न, हराभरा, हरियाली (स्मार्ट सिटी) बनाउने हाम्रो उद्देश्य हो ।
नेपालको राजनीतिमा प्रतिबद्धता जनाउने तर, जितेर गएपछि काम नगर्ने प्रवृत्ती छ, तपाईले त्यसो गर्नुहुन्न भन्ने के ग्यारेण्टी ?
म आफैंमा के दाबी गर्छु भन्दा अहिलेसम्म जनताको सेव ागर्ने मेरो संस्कार हो । अहिलेको परिवर्तनले जनताको पक्षमा काम गर्छु भनेर जनताकै पक्षमा काम गर्ने प्रावधान राखेको कारण अब जनतालाई ढाँट्न पाइँदैन । चुनावको समयमा जनताले जे भनेर भोट मागेको हुन्छ त्यही अनुसार काम गर्नु आवश्यक छ । मेरो त्यसमा पूर्ण प्रतिबद्धता छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रलाई कसरी जनताको पहुँचमा पु¥याउनु हुन्छ ?
अहिले सुरुमा प्रत्येक वडामा स्वास्थ्यचौकी निर्माण गर्ने, संविधानले प्रत्याभूत गरेको मौलिक अधिकारको कडाइपूर्वक कार्यान्वयन गर्ने मेरो प्रतिवद्धता छ । यस्तै शिक्षाको क्षेत्रमा प्रत्येक विद्यालयको आवश्यकताको आधारमा भौतिक पूर्वाधार निर्माण गर्ने, मानविकी, प्राविधिक र विज्ञान विषयको अध्ययन, अध्यापनको व्यवस्था गर्ने, आदिवासी, जनजाति, दलित तथा गरिवहरुका लागि उचित छात्रवृत्तीको व्यवस्था गर्ने गरी योजना निर्माण गर्ने मेरो प्रतिबद्धता हुनेछ ।
पथरीशनिश्चरेको केन्द्र कहाँ बनाउने भन्ने विषयमा पनि विवाद देखिएको छ । तपाईको धारणा के हो ?
यस विषयमा अहिले नै भन्ने कुरा होइन । अहिले पथरीमा नगरपालिकाको कार्यालय स्थापना गरिएको छ, त्यो अस्थाइ हो । दलहरुको सहमतिमा त्यसलाई त्यहाँ राखिएको हो । अबको निर्वाचन पछि छानिएको जनप्रतिनिधिहरुको बहुमतले नगरपालिकाको केन्द्र कहाँ हुने भन्ने निर्णय हुनेछ ।
जग्गाको दोहोरो स्वामित्वको विषय पनि तपाईको क्षेत्रमा व्यापक छ । त्यसलाई कसरी हल गर्नुहुन्छ ?
जति पनि धनिपूर्जा छ त्यो २०४२ साल यता बनाइएको छ । धनिपूर्जा बनिसकेको जग्गामा सुकुम्बासीले अतिक्रमण गरेर बसेको होइन । बरु, सुकुम्बासीले वर्षौदेखि भोगेको जग्गामा पहुँच पुग्ने मान्छेले पछिल्लो पटक पूर्जा बनाएका हुन् । त्यसो भएको हुनाले पूर्जा छानविन गर्ने, दुई नम्बरी हो कि नम्बरी हो । स्रोत खुल्ने पूर्जालाई मान्यता दिइन्छ । जुन पूर्जाको स्रोत खुल्दैन त्यसलाई मान्यता नदिने । स्रोत खुल्ने पूर्जा हो भने त्यसको व्यवस्था राज्यले गर्नुपर्छ । जमिन जसले जोतेको छ भोगेको छ त्यसैको आधारमा पूर्जा बनाएर समाधान गर्ने मेरो योजना छ ।
त्यतिसजिलै छानविन गर्न सक्नुहोला र ?
स्थानीय सरकारले छानविन गर्ने कानून बनाएर, छानविन समिति बनाएर हल गर्ने अधिकार भएको हुनाले अप्ठ्यारो हुँदैन ।