खबर पूर्वाञ्चल
नेपाली युरोपियन खेलकुद संघ (एनइएससी) ले आगामी नोभेम्बर ७ देखि गर्ने भलिबल प्रतियोगिताको तयारी कस्तो हुँदैछ ?
युरोपमा अहिलेसम्म कुनै पनि नेपालीले नगरेको काम हामीले एनइएससीमार्फत गर्दैछौं । त्यसका लागि तयारी भव्य भइरहेको छ । प्रतियोगितामा सहभागी हुने टिमको लगभग छिनोफानो भइसकेको छ । शिल्ड, प्रमाणपत्र, स्थान व्यवस्थापनको काम भइसकेको छ । संघका अध्यक्ष दिलकुमार घमालसहितका साथीहरूले यो प्रतियोगितालाई उत्सवका रुपमा सम्पन्न गर्न खटिरहनु भएको छ । केही छुटपुट भएका छन् भने त्यसलाई पनि पूर्णता दिने काम गरिरहेका छौं ।
यो प्रतियोगिता गर्नुको उद्देश्य के हो नि ?
यो प्रतियोगिताको सबैभन्दा ठूलो उद्देश्य भनेको भाइचारा अभिवृद्धि गर्ने र स्वास्थ्यप्रति आमनागरिकलाई सचेतना जगाउने हो । अहिले भाइचारा हराउँदै गएको छ । एउटा नेपालीसँग अर्को नेपाली नबोल्ने अवस्था छ । हाम्रो उद्देश्य भनेको सबै नेपालीलाई खेलकुदका माध्यमबाट एउटै सूत्रमा जोड्ने हो । अझ भनौं संघ एउटा धागो हो यो धागोले खेलकुदको सियोले नेपाली रुपी फूललाई जोडेर एउटै माला बनाउने हो । हाम्रो यो अभियान पनि हो ।
विदेशमा बस्ने नेपालीहरूमा पनि राजनीति हुन्छ भन्छन्, यसमा पनि होला नि त ?
तपाईंले सही कुरा उठाउनु भयो । अहिले हरेक क्षेत्रमा राजनीति हाबी भएको छ । विदेशमा बस्ने नेपालीहरू चारजना भए भने संस्था खोल्नै पर्ने र त्यहाँ राजनीति गर्नैपर्छ भन्ने सोचाइ छ । यसलाई चिर्नका लागि हामीले एनइएससी खोलेका हौं । यसमा आबद्ध हुन जात, धर्म, सम्प्रदाय, विचारभन्दा माथि हुनुपर्छ । यसमा हामी राजनीति हुन दिंदैनौं । तपाईंले भनेजस्तै गैरआवासीय नेपालीहरूमा राजनीति हुने गरेको छ । राजनीति नगर्ने व्यक्तिचाहिं संस्थामा आबद्ध नहुने । विचार आफ्नो ठाउँमा छ । तर, विदेशमा बस्ने अनि राजनीतिका नाममा नेपाली–नेपाली झगडा गर्ने र बोलचाल पनि नगर्ने अवस्था छ । यस्तो परिस्थितिलाई खेलकुदले मात्रै चिर्छ भन्ने हाम्रो ठम्याइ छ । यो संस्थामा राजनीतिको ‘र’ पनि हुन दिंदैनौं ।
एनइएससी स्थापना गरेर भलिबल प्रतियोगिता गर्ने कसरी योजना आयो ?
संघ गठन गर्नका लागि दिलकुमार दाइको ठूलो योगदान छ । उहाँले धेरै नै मेहनत गर्नु भएको छ । हामीले पनि सहयोग गरिरहेका छौं । एक अर्कालाई जोड्ने भनेको खेलकुदले नै हो । राजनीतिले मान्छेका मन र मुटुलाई विभाजित गर्छ । तर, खेलकुदले विभाजित मन र मुटुलाई जोड्छ । त्यही भएर पनि युरोपमा विभाजित नेपालीका मन र मुटुलाई खेलकुदबाट जोड्न सकिन्छ भन्ने उद्देश्यले संघ गठन गरेर भलिबल प्रतियोगिता गर्न लागेका हौं ।
तपाईंहरू सबै व्यस्त हुनुहुन्छ, यति ठूलो प्रतियोगिता गर्न लाग्नु भएको छ, युरोपमा बस्ने नेपालीहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
एनइएससी गठन भएको धेरै समय भएको छैन । यो संघप्रतिको आकर्षण बढेर गएको छ । प्रतियोगितालाई सफल बनाउन धेरैतिरबाट चासो व्यक्त भएको पाएका छौं । आफ्नो इच्छा र क्षमताअनुसार डोनेसन पनि गरिरहनु भएको छ । सबैतिरबाट राम्रो प्र्रतिक्रिया पाइरहेका छौं । यसले हामीलाई थप ऊर्जा प्राप्त भइरहेको छ ।
अनि त्यहाँका स्थानीय अर्थात् अष्ट्रियाका नागरिकले कस्तो रेस्पोन्स दिइरहेका छन् ?
अष्ट्रियामा ९ वटा प्रान्त छन् । त्यसमध्येको तिरोल एउटा हो । त्यसको राजधानी इन्स्ब्रुक हो । तिरोलको क्षेत्रफल करिब १३ हजार वर्गकिलोमिटर रहेको छ । तर, त्यहाँ हरेक वर्ष ५ करोडभन्दा बढी पर्यटक आउँछन् । गाउँ नै पिच्छे होटल र रेष्टुरेन्टहरू छन् । यो प्रान्तमा हिमालै हिमाल छन् । जसले गर्दा नेपालमा पनि हिमाल भएकाले यहाँका स्थानीयले नेपालीलाई धेरै नै माया गर्छन् । नेपाली भनेपछि इज्जत मात्रै होइन सत्कार पनि गर्छन् । हामीले कुनै कार्यक्रम गर्दा यहाँका स्थानीयले आफ्नै कार्यक्रमजस्तो गर्छन् । उनीहरूले सहयोग पनि गर्छन् । उनीहरूले नेपालीलाई आफ्नै दाजुभाइ र दिदीबहिनीका रुपमा लिन्छन् । त्यसो भएकाले यो प्रतियोगितालाई उनीहरूले अत्यनै सकारात्मक रुपमा लिएका छन् । अर्को कुरा यहाँका नागरिकमा एस र नो मा एन्सर हुन्छ । राम्रो कुरालाई उनीहरूले तुरुन्तै एस भन्छन् र नराम्रो कुरा छ भने तुरुन्तै नो भन्छन् ।
तपाईंहरूले खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्य चाहिं राख्नु भयो, तर नेपाली कला र संस्कृतिको प्रचारप्रसारमा चाहिं ध्यान दिनु भएको छैन ?
खेलकुदजस्तै भाषा, साहित्य, कला र संस्कृतिले मान्छेका मनलाई जोड्छ । हामीले नेपाली कला र संस्कृतिलाई पनि प्राथमिकतामा राख्नेछौं । यसपटकको प्रतियोगितामा सांस्कृतिक नृत्य र झाँकी प्रस्तुत गर्न नसके पनि नेपाली झण्डा फहराउनेछौं । यो पनि नेपालको पहिचानलाई विदेशमा फैलाउने काम हो भन्ने हामीलाई लागेको छ । पहिलोपटक भएकाले यसपटकको प्रतियोगितामा नेपाली सांस्कृतिक नृत्य र कला प्रस्तुत नभए पनि आगामी दिनमा प्रस्तुत गर्नेछौं ।
तपाईको प्रतिक्रिया