पूर्वाञ्चल खबर
पर्साको वीरगञ्जस्थित टिवी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि हात पारेको हो।
टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो।
कोशीका लागि काजल श्रेष्ठले अविजित ३८ रन बनाउँदा प्रिन्सा राना मगरले अविजित १६ रन, कप्तान रुवीना क्षेत्रीले १२ रन र लकिता राजवंशीले १० रनको योगदान दिइन्।
एपिएफकी सुमन विष्ट, सवनम राई, कविता जोशी र कप्तान सीता रानामगरले एक÷एक विकेट हात पारे।
९९ रनको विजयी लक्ष्य पाएको एपिएफले १९ दशमलव ५ बलमा सवै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो। एपिएफकी कविता जोशीले १४ रन बनाउँदा रेवती धामीले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
फाइनल खेलको प्लेयर अफ द म्याच कोशीकी काजल श्रेष्ठ घोषित भइन्। काजल प्रतियोगिताको प्लेयर अफ द सिरिज समेत घोषित भइन् । बागमतीकी कृष्णा गुरुङ उत्कृष्ट बलर र बागमतीकै सोनी पाख्रिन उत्कृष्ट ब्याटर घोषित भएका छन्।
मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासंघको संयोजना सम्पन्न प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम एपिएफ टिम गरी आठ टिमको सहभागिता थियो।
पुरस्कार वितरणमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लप घोषसहितको खेलाडीहरुको सहभागिता रहेको थियो ।