पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगर–८ स्थित मोरङ कारागारका कैदीबन्दीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत् रक्तदान गरेका छन् । कारागारभित्रै आयोजित उक्त कार्यक्रममा १७५ जना कैदीबन्दीले उत्साहपूर्वक रक्तदान गरेका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको विशेष पहल तथा कारागार प्रमुख राजन घिमिरे र चौकीदार राकेश यादवको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो । संकलित १७५ पिन्ट रगतले अस्पतालमा उपचाररत बिरामीहरूका लागि हुने रगतको अभाव न्यूनीकरणमा ठूलो सहयोग पुग्ने नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेवप्रसाद मण्डलले बताए ।
कारागारलाई केवल सजाय भोग्ने थलो मात्र नभई सुधार र सकारात्मक परिवर्तनको केन्द्रका रूपमा विकास गर्न यस्ता गतिविधि गरिएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख राजन घिमिरेले रक्तदानमार्फत कैदीबन्दीहरूले मानवीय सेवामा आफ्नो दरिलो उपस्थिति देखाएको उल्लेख गरे । “रक्तदान जीवनदान हो भन्ने भावना कारागारभित्रका साथीहरूमा पनि उच्च देखिएको छ,” उनले भने, “यसले उहाँहरूमा रहेको सामाजिक उत्तरदायित्वको चेतनालाई प्रस्ट पारेको छ ।”
चौकीदार राकेश यादवले कैदीबन्दीहरू पनि समाजका जिम्मेवार सदस्य हुन् भन्ने सन्देश प्रवाह गर्न रक्तदान कार्यक्रम सफल भएको बताए । नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा कारागार प्रशासनले आगामी दिनमा पनि शिक्षा, सीपमूलक तालिम र स्वास्थ्यसँग सम्बन्धित रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
हाल मोरङ कारागारमा महिला र पुरुष गरी १ हजार २०८ जना कैदीबन्दी आश्रित छन् ।