पूर्वाञ्चल खबर
महानगरका मेयर नागेश कोइरालाले शर्मालाई स्वागत गर्दै अनुभवी र ऊर्जाशील प्रशासनिक नेतृत्वको आगमनले महानगरको विकास अभियानलाई थप गति मिल्ने विश्वास व्यक्त गरे। उनले सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, सुशासन सुदृढीकरण र विकास निर्माणका योजनालाई प्रभावकारी कार्यान्वयनमा प्रशासनिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताए।
‘विराटनगरले युवा र सक्षम प्रमुख प्रशासकीय अधिकृत पाएको छ,’ मेयर कोइरालाले भने, ‘महानगरको दीर्घकालीन विकास, पूर्वाधार विस्तार तथा नागरिकमैत्री सेवा प्रवाहमा उहाँको अनुभव महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौं।’
कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई संस्थागत विकासको आधार माने। उनले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै परिपूरक रहेको उल्लेख गर्दै महानगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा प्रशासनिक दक्षता अभिवृद्धिका लागि पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए।
‘विराटनगरको समृद्धि र विकासका लागि कर्मचारी प्रशासनका तर्फबाट कुनै कमी हुन दिइने छैन,’ शर्माले भने, ‘जनप्रतिनिधिसँग समन्वय र सहकार्य गर्दै नागरिकको अपेक्षाअनुसार परिणाममुखी कामलाई प्राथमिकता दिइनेछ।’
महानगरकी उपमेयर शिल्पा निराला कार्की, सामान्य प्रशासन तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेल, महाशाखा प्रमुख अर्जुन थपलियालगायत महानगरका उच्च अधिकारीहरूसमेत शर्मालाई स्वागत गरेको मेयर कोइराला प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालको भूमि व्यवस्था विभागको महानिर्देशकका रुपमा सरुवा भएपछि शर्मा आएका हुन् ।