पूर्वाञ्चल खबर

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विद्यार्थीहरूलाई मेहनत र लगनशील भएर अध्ययन गर्न सुझाव दिए। ‘कलेजमा सिकेको किताबी ज्ञानलाई जब हामी व्यवहारमा उतार्न सक्छौँ, तब मात्र वास्तविक सफलता मिल्छ,’ आफ्नो जीवनका प्रेरक प्रसङ्गहरू सुनाउँदै राउतले भने, ‘तपाईंहरूको आजको परिश्रमले नै भोलिको सुन्दर भविष्य सुनिश्चित गर्छ।’
कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीको अथक मेहनतले मात्रै सफलता सम्भव हुने कुरामा जोड दिए। उनले भने, ‘शिक्षादीप कलेज कोशी प्रदेशकै उत्कृष्ट हुनुमा यहाँका विद्यार्थीको मेहनत र अनुशासनको ठूलो भूमिका छ। विद्यार्थीले यी दुई वर्ष कडा मेहनत गर्ने हो भने भविष्यमा सफलता अवश्य मिल्नेछ।’
त्यसैगरी, कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप कलेजले केवल सैद्धान्तिक मात्र नभई रोजगारमुखी शिक्षामा जोड दिँदै आएको बताए। उनले विद्यार्थीहरूलाई समयको महत्त्व बुझेर अध्ययनमा केन्द्रित हुन आग्रह गरे।
कोशी प्रदेशका मन्त्री एवं कलेजका अध्यक्ष भीम पराजुलीले नयाँ विद्यार्थीहरूलाई उज्ज्वल शैक्षिक यात्राको शुभकामना दिँदै कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।
सोही अवसरमा कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने १० जना विद्यार्थीहरू र अन्य विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो।