विद्यार्थीहरूको लगनशीलता र मेहनतका कारण शतप्रतिशत नतिजा आएको हो : टिकाराम पुरी
पूर्वाञ्चल खबर
२ जेष्ठ २०८३, शनिबार १५:३७
72
Shares
विराटनगर / विराटनगरको एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले आधुनिक शिक्षामा प्रविधिको प्रयोग अनिवार्य भए पनि त्यसको सदुपयोगमा ध्यान दिनुपर्ने बताएका छन् । शनिबार विराटनगरमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको सम्मान समारोहमा उनले प्रविधिको सही प्रयोगमा जोड दिएका हुन् ।
“अहिलेको समय प्रविधिको हो, त्यसैले शिक्षामा यसको प्रयोग गर्ने हो, आईटी चलाउने हो,” प्रिन्सिपल पुरीले भने, “तर यसको सदुपयोग मात्र गर्ने हो, दुरुपयोग होइन ।” उनले विद्यार्थीहरूले आर्जन गरेको ज्ञान र प्रमाणपत्र व्यवहारमा ‘बिक्ने’ र समाजका लागि उपयोगी हुनुपर्ने धारणा राखे । प्रिन्सिपल पुरीले विद्यार्थीहरूको लगनशीलता र मेहनतका कारण शतप्रतिशत नतिजा सम्भव भएको उल्लेख गर्दै आगामी शैक्षिक यात्राको शुभकामना दिए । “हाम्रा विद्यार्थीहरू अत्यन्तै मेहनती छन्, उनीहरूकै लगावको प्रतिफल आज यो सफलता हात लागेको हो,” उनले थपे ।
विगत ३३ वर्षदेखि सञ्चालित यस विद्यालयले २०५७ सालदेखि एसएलसी हालको एसईईमा सहभागिता जनाउँदै आएको छ । यो विद्यालयको २६ औँ ब्याच भएको जानकारी दिँदै पुरीले समयको बदलिँदो गतिसँगै शैक्षिक गुणस्तरमा थप निखार आएको दाबी गरे ।
समारोहमा यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका विद्यालयका १९३ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्यालयका अनुसार अमन यादवले ४ जीपीए प्राप्त गरेका छन् भने १७६ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए हासिल गरेका छन् । त्यस्तै, १७ जना विद्यार्थीले ३.२५ देखि ३.६० जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ ।
सम्मानित विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला शिक्षा तथा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाल र प्रिन्सिपल पुरीले कदरपत्र, खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रमुख अतिथि दाहालले एभरेष्ट स्कुलले गुणस्तरीय शिक्षामा पुर्याएको योगदानको प्रशंसा गरे । समारोहमा सफल विद्यार्थीका अभिभावक, शिक्षक र स्थानीय शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो ।