पूर्वाञ्चल खबर
विराटनगरमा आयोजित क्यानको वार्षिक साधारणसभाको उद्घाटन सत्रपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्काले क्यान र नेपाल प्रिमियर लिग (एनपीएल) लाई लिएर नियोजित रूपमा भ्रम फैलाइएको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका आर्थिक विवरण र कागजात उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई क्यानमाथि कारबाही गर्न निर्देशन दिएको छ । पटक–पटकको पत्राचारलाई अटेर गरेको आरोप लगाउँदै मन्त्रालयले चित्तबुझ्दो जवाफ नआए क्यानलाई निलम्बनसम्म गर्न सकिने चेतावनी दिएको छ ।
यस विषयमा सचिव खड्काले भने, ‘संस्थाको काम मन नपर्ने बित्तिकै अख्तियारमा बेनामी उजुरी गर्ने र भ्रम फैलाउने प्रवृत्ति हाबी भयो । हिसाब–किताब हेर्न चाहने सदस्यहरू कार्यालयमै आएर कागजात हेर्न सक्नुहुन्छ, तर संस्थाका गोप्य दस्ताबेज इमेलमार्फत जथाभावी पठाउने प्रावधान छैन ।’ उनले क्यानले आवश्यक सबै कागजात सम्बन्धित निकायमा बुझाइसकेकाले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
क्यानभित्र कुनै राजनीतिक हस्तक्षेप नरहेको र संस्था एकढिक्का भएर अगाडि बढिरहेको उनको दाबी छ । एनपीएलले नेपाली क्रिकेटमा ल्याएको व्यावसायिकतालाई सबैले सकारात्मक रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
क्रिकेट पूर्वाधारबारे चर्चा गर्दै खड्काले तल्लो मूलपानी मैदानलाई क्यानको स्वामित्वमा ल्याउन पहल भइरहेको र विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिए । आगामी वर्ष महिला यू–१९ विश्वकप आयोजनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिले मैदान निरीक्षण गरिरहेको उनले बताए । नेपालको मुख्य लक्ष्य ओडिआई (ODI) मान्यता जोगाउँदै आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) बन्नेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो ।