AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुलमा शिक्षक–शिक्षिकाका लागि दुईदिने भाषा विकास सम्बन्धी प्रशिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०८३, आईतवार १८:५१
3
Shares
विराटनगर /गुणस्तरीय शिक्षण–सिकाइको आधार भाषालाई मान्दै विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना शिक्षक–शिक्षिकाका लागि दुईदिने भाषा विकास सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न गरेको छ ।

प्रशिक्षणले शिक्षण विधिलाई अझ प्रभावकारी, आधुनिक र विद्यार्थीमैत्री बनाउने लक्ष्य लिएको विद्यालयले जनाएको छ ।

विद्यालयका सबै तहका करिब एक सय शिक्षक–शिक्षिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा। डा। लक्ष्मण ज्ञवालीले सहजीकरण गरेका थिए । प्रशिक्षणमा विशेषगरी नेपाली र अंग्रेजी भाषाको प्रभावकारी प्रयोग, भाषिक दक्षता अभिवृद्धि तथा विद्यार्थीमा भाषा विकास गराउने व्यावहारिक उपायबारे केन्द्रित छलफल गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीका अनुसार शिक्षकको भाषिक क्षमता सुदृढ भए मात्र विद्यार्थीको सिकाइ उपलब्धि सुधार हुने भएकाले यस्तो प्रशिक्षणलाई प्राथमिकतामा राखिएको हो । “समयसापेक्ष र विश्वस्तरीय शिक्षण प्रणाली विकासका लागि हामी विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छौं,” उनले भने, “काठमाडौं विश्वविद्यालयसँगको सहकार्यअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।”

भाइस प्रिन्सिपल कुन्दन पुरीले प्रशिक्षणले शिक्षकलाई भाषिक प्रयोग, अभिव्यक्ति र कक्षा व्यवस्थापनमा नयाँ दृष्टिकोण दिएको बताए । उनका अनुसार सहभागीलाई भाषा सिकाउने विधि, प्रयोगात्मक अभ्यास तथा विद्यार्थी केन्द्रित शिक्षण रणनीतिबारे गहन प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा सहभागी शिक्षक भोजकुमार श्रेष्ठले कार्यक्रम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिए । “निरन्तर अध्ययन, लेखन र सहकर्मीबीचको छलफलले भाषिक विकासमा ठूलो भूमिका खेल्ने रहेछ भन्ने स्पष्ट अनुभूति भयो,” उनले भने । त्यस्तै शिक्षिका कञ्चन थापाले बहुभाषिक पद्धतिमा अध्यापन गर्दा सिकाइ अझ प्रभावकारी हुने निष्कर्षमा आफू पुगेको बताइन् ।

कार्यक्रमकै अवसरमा विद्यालयले ‘एभरेष्ट स्पिकर क्लब’ गठन गरेको छ । क्लबले वर्षमा कम्तीमा ६ वटा कार्यक्रममार्फत शिक्षकहरूको भाषिक दक्षता अभिवृद्धि, पठन–पाठन संस्कृतिको प्रवर्द्धन तथा अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेको छ ।

अर्का भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार प्रशिक्षणले विद्यालयमा भइरहेको शिक्षण अभ्यासलाई थप व्यवस्थित र परिष्कृत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । शुक्रबार सुरु भएको प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।

एभरेष्ट स्कुलले शिक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने उद्देश्यसहित रातो बंगला फाउन्डेसन, कारखाना, बेलायतको डिजी स्कुललगायत विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर