पूर्वाञ्चल खबर
जिल्ला अदालत मोरङको फैसला कार्यान्वयनका लागि चलाइएको विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले हिजो जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चोरी, लागूऔषध र चेक अनादर मुद्दाका कसूरदारहरू रहेका छन् ।
प्रहरीका अनुसार चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका कटहरी गाउँपालिका–१ का मो. रजाक पक्राउ परेका छन् । उनीमाथि दुईवटा चोरीका मुद्दामा क्रमशः १ महिना ४ दिन र ४ महिना ६ दिन कैद सजायको फैसला भएको थियो ।
यस्तै, लागूऔषध मुद्दामा ९ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका लेटाङ नगरपालिका–४ का सुरज राई पनि समातिएका छन् । चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका विराटनगर–१२ का गणेश खड्का र ३ हजार जरिवाना तोकिएका सुन्दरहरैंचा–९ का गगन बहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी निरीक्षक लेखनाथ दाहालले पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाइएको जानकारी दिए । “अदालतको फैसला कार्यान्वयनलाई चुस्त बनाउन र न्यायपूर्ण समाज निर्माणका लागि फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएका छौं,” उनले भने ।