AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री बालेन्द्र साहले सुकुम्वासी बस्ती खाली गराउन निर्देशन, चुनावअघि सुकुम्वासी बस्ती जोगाउने प्रतिबद्धता जनाउँदै ‘बस्तीमा डोजर चन्लु पहिले मेरो छातीमाथि चल्ने बताउँने सभापती रवि मौन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०८३, शुक्रबार ०८:४३
54
Shares
विराटनगर / सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीले देशभरि राजनीतिक र सामाजिक तरंग सिर्जना गरेको छ ।

सरकारको नेतृत्वले देशभरका अव्यवस्थित बस्ती खाली गराउने भनेसँगै त्यसको थालनी काठमाडौंको थापाथलीबाटै गर्ने तयारी छ । तर, यो निर्णयले तत्कालै चौतर्फी आलोचना निम्त्याएको छ । विशेषगरी चुनावअघि गरिएका वाचा र अहिलेको कार्यशैलीबीचको विरोधाभासलाई लिएर प्रश्न उठ्न थालेका छन् ।

प्रधानमन्त्री बालेन्द्र साहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएको बताइएको छ । त्यसको केही घण्टामै थापाथली क्षेत्रमा प्रहरीद्वारा माइकिङ गर्दै बस्ती खाली गर्न सूचना जारी गरिएको छ । स्थानीयलाई आइतबारसम्म स्थान खाली गर्न भनिएको छ । अन्यथा बलपूर्वक हटाइने संकेत दिइएको छ ।

सरकारको यो कदम बाहिरिएसँगै राजनीतिक रूपमा सबैभन्दा बढी दबाबमा देखिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने । उनले चुनावअघि सुकुम्वासी बस्ती जोगाउने प्रतिबद्धता जनाउँदै ‘बस्तीमा डोजर छिर्नुअघि मेरो छातीमाथि टेक्नुपर्नेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । अहिले भने सोही पार्टीको नेतृत्वमा रहेको सरकारले बस्ती हटाउने तयारी गर्दा लामिछानेको मौनता धेरैका लागि अर्थपूर्ण बनेको छ ।

रास्वपाले दुईतिहाइ बहुमत नजिकको जनादेश पाएर सरकार बनाएको पृष्ठभूमिमा यो निर्णयलाई धेरैले नीतिगत एवं राजनीतिक विचलनका रूपमा व्याख्या गरेका छन् । पार्टीभित्रै पनि निर्णय सामूहिक हो वा एकल भन्ने विषय स्पष्ट हुन सकेको छैन । नेताहरू सार्वजनिक रूपमा खुल्न नसकेको अवस्था छ । सभापति लामिछानेले पनि अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच नागरिक समाज र मानव अधिकारकर्मीहरूले सरकारको कदमको तीव्र विरोध गरेका छन् । वृहत्त नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा प्रमाणीकरण, पुनर्वास, वैकल्पिक आवास र जीविकोपार्जनको व्यवस्था नगरी बलपूर्वक बस्ती हटाउनु अस्वीकार्य भएको उल्लेख गरिएको छ । आन्दोलनले बल प्रयोग गरिए प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएको छ ।

त्यस्तै, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले पनि सरकारको निर्णयलाई ‘सीमान्तकृत नागरिकमाथिको राज्यीय दमन’को संज्ञा दिएको छ । सञ्जालकी अध्यक्ष श्यामकुमारी शाहले भूमिहीनहरूको समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक पर्ने बताउँदै डोजरमार्फत विस्थापन मानव अधिकारविरुद्धको कदम भएको उल्लेख गरेकी छन् ।

त्यसैगरी, जवाफदेहिता निगरानी समितिले सरकारको तयारीलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा व्याख्या गरेको छ । समितिले यसअघि अदालतबाट दिइएको आदेशको स्मरण गराउँदै बस्ती हटाउनुअघि व्यवस्थापन, प्रमाणीकरण र पुनर्वास अनिवार्य रहेको बताएको छ । उच्च अदालत पाटनले दिएको आदेश कार्यान्वयन नगरी बल प्रयोग गरे अदालतको अवहेलना हुने चेतावनी पनि दिइएको छ ।

सरकारको आन्तरिक समन्वयसमेत कमजोर देखिएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउने कुनै निर्णय नभएको बताएका थिए । तर, केही घण्टामै बस्ती खाली गराउन माइकिङ सुरु भएपछि सरकारभित्रै सूचना अभाव वा समन्वयहीनता रहेको स्पष्ट भएको छ ।

स्थानीय स्तरमा भने त्रासको वातावरण बनेको छ । थापाथलीसहितका बस्तीमा बसोबास गर्दै आएका नागरिकहरू आफूहरूलाई वैकल्पिक व्यवस्था बिना हटाउन खोजिएको भन्दै आक्रोशित छन् । वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकहरू आफूहरूलाई ‘अवैध’ भन्दै एकैपटक हटाउन खोज्नु अन्यायपूर्ण भएको बताउँछन् ।

विश्लेषकहरूका अनुसार यो विवाद सुकुम्वासी व्यवस्थापनको विषय मात्र नभएर नयाँ राजनीतिक शक्तिको विश्वसनीयतासँग जोडिएको छ । चुनावअघि गरिएका प्रतिबद्धता र सत्तामा पुगेपछि लिइने निर्णयबीचको अन्तरले जनविश्वासमा असर पार्ने उनीहरुको भनाइ छ ।

सरकारले भने औपचारिक रूपमा विस्तृत योजना सार्वजनिक गरेको छैन । पुनर्वास, क्षतिपूर्ति वा वैकल्पिक आवासबारे स्पष्ट नीति नआउँदा अन्योल अझै बढेको छ । यही अवस्थाले विरोधलाई थप उक्साएको देखिन्छ ।

अब सरकार आफ्नो निर्णयमा कति अडिग रहन्छ वा नागरिक दबाबपछि पुनर्विचार गर्छ भन्ने मुख्य चासोको विषय बनेको छ । अहिलेको परिस्थिति हेर्दा सुकुम्वासी बस्तीको मुद्दा व्यवस्थापनको प्रश्न नभई राजनीतिक उत्तरदायित्व, मानव अधिकार र राज्यको भूमिकासम्बन्धी गम्भीर बहसको केन्द्रमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर