AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संस्कृति संरक्षणमा कटहरीको मुख्य प्राथमिकता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०८३, बुधबार १६:३३
54
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न जातजाति र समुदायको भाषा, धर्म तथा संस्कृतिको संरक्षणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।

बहुसांस्कृतिक र बहुभाषिक पहिचानलाई जोगाए मात्र स्थानीय तहको मौलिकता कायम रहने भन्दै गाउँपालिकाले संरक्षणका विभिन्न कार्यक्रमहरू अघि सारेको हो ।

यसै अभियानअन्तर्गत, गाउँपालिकाले मङ्गलबार कटहरी गाउँपालिका–१ मा रहेको ‘नेवा देय देवु’ समितिलाई सांस्कृतिक सामग्रीहरू हस्तान्तरण गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको नेवारी संस्कृतिलाई पुनर्जीवन दिन गाउँपालिकाले धिमे बाजा, झ्याम्टा, मादल र लाखे नाचका लागि आवश्यक पोसाक तथा अन्य सामग्रीहरू प्रदान गरेको हो ।

सांस्कृतिक सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष देवराज चौधरीले पालिकाभित्रका हरेक समुदायको पहिचान जोगाउन स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । “हाम्रो पालिकाभित्र विभिन्न जातजाति र समुदायको बसोबास छ । उनीहरूको संस्कृति जोगिए मात्र कटहरीको वास्तविक पहिचान कायम रहन्छ,” अध्यक्ष चौधरीले भने, “नेवार समुदायका युवाहरूले आफ्नो संस्कृति जोगाउन देखाएको उत्साहलाई थप ऊर्जा प्रदान गर्न हामीले यी सामग्रीहरू सहयोग गरेका हौँ ।”

उनले यसअघि पनि पालिकाले अन्य समुदायका भाषा र संस्कृतिको जगेर्नाका लागि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्पष्ट पारे ।

कटहरी गाउँपालिका–१ का वडाअध्यक्ष हरिनारायण राजवंशीले स्थानीय तन्नेरीहरूले आफ्नो पुर्ख्यौली विरासतलाई काँधमा बोकेर हिँडेकोमा खुसी व्यक्त गरे । “अचेल कटहरीका युवाहरू पश्चिमा संस्कृतिमा मात्र झुमेका छैनन्, उनीहरूले धिमेको ताल र लाखेको चालमार्फत एउटा सिङ्गो इतिहासलाई पनि जीवित राखेका छन्,” उनले भने, “पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुनु यो क्षेत्रकै लागि एउटा उदाहरणीय कार्य हो ।”

काठमाडौँ उपत्यकाबाहिर नेवारी भाषा र संस्कृति विस्तारै लोप हुँदै गएको अवस्थामा कटहरीका युवाहरूले ‘नेवा देय देवु’ मार्फत संरक्षणको पहल थालेका हुन् । समितिका अध्यक्ष लक्ष्मीराज भण्डारीका अनुसार गाउँपालिकाको सहयोगले युवाहरूमा थप उत्साह थपेको छ ।

“हामीले चासो नदेखाएको भए हाम्रो पहिचान नै मेटिने खतरा थियो,” भण्डारीले भने, “गाउँपालिकाले बाजा र पोसाक सहयोग गरेपछि अहिले २० भन्दा बढी युवायुवतीहरू धिमे बाजा र लाखे नाचको प्रशिक्षणमा जुटेका छन् । अब गाउँपालिकाका कुनै पनि शुभकार्यमा हाम्रो टोली पुर्ख्यौली धुनका साथ तयार हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर