मेयर कोइरालाले रोपाहारसँगै छुपुछुप धान रोपे

खबर पूर्वाञ्चल, १५ असार २०७९, बुधबार १९:३७
567
Shares
विराटनगर / अविरल वर्षाका बीच विराटनगर महानगरपालिकाले धान दिवस मनाएको छ ।

विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाको आयोजनामा भएको कार्यक्रममा मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतलगायत सहभागी भएका थिए । रोपाहारसँगै मेयर कोइरालाले पनि धान रोपे । सो अवसरमा शुभकामना दिँदै मेयर कोइरालाले डुबान र बाढीले महानगरका विभिन्न क्षेत्र ग्रस्त हुँदाहुँदै पनि आफू कृषकहरूलाई हौसला प्रदान गर्न उपस्थित भको प्रस्ट्याए । “महानगरका विभिन्न स्थान डुबानमा परेको छ, ती क्षेत्रको निरीक्षणमा जानुछ । उद्धार र राहत वितरणलाई चुस्तदुरुस्त बनाउनुछ,” मेयर कोइरालाले भने, “तर यहाँ म तपाईंहरूलाई हौसला प्रदान गर्न उपस्थित भएको हुँ ।”

उनले कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए । कोइरालाले जग्गाको खण्डीकरणका कारण कृषि उत्पादन घट्दै गएको बताए । मेयर कोइरालाले कृषि उत्पादन घट्दा मुलुकको अर्थतन्त्र आयातमुखी बन्दै गएको चर्चा गरे ।

मेयर कोइरालाले भने, “हाम्रा जमिनहरू बाँझै बसेका छन्, फलतः हामी आफ्नै कौसी र करेसाबारीमा उत्पादन गर्न सक्ने धनिया र खोर्सानीमा समेत भरनिर्भर भइसकेका छौं ।” कृषिमा आत्मनिर्भर नभएसम्म मुलुकको अर्थतन्त्र बलियो हुन नसक्ने उनको भनाइ थियो । मेयर कोइरालाले अविरल वर्षाका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले महानगर क्षेत्रभित्र पनि थुप्रै खोतीयोग्य जमिन रहेको बताए । बस्नेतले खेतीयोग्य जमिन बाँझै छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । “खेतीयोग्य जमिन बाँझै छाड्ने प्रवृत्तिको अन्त्यका लागि महानगर गम्भीर छ,” बस्नेतले भने, “आवास, औद्योगिक र कृषियोग्य जमिनको वर्गीकरण नभएसम्म यो समस्याको अन्त्य हुँदैन ।” कार्यक्रममा महानगरका कर्मचारी, नगर प्रहरी, कृषकलगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५