पूर्वाञ्चल खबर

साम्पाङले सामाजिक सञ्जाल टिकटकमार्फत धम्की दिएको आरोप लगाउँदै सुनिता खड्का नामक एक टिकटकरविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा उजुरी दर्ता गराएका छन् । उनले धम्की दिने रास्वपाको कार्यकर्ता भएको बताए ।
आफूलाई मात्र नभई आफ्नो घर नै जलाउने धम्की आएको बताउँदै साम्पाङले घटनालाई गम्भीर सुरक्षा चुनौती मानेका छन् । यसअघि सोमबार बिहान उनले आफ्नो फेसबुकमार्फत पनि धम्की आएको विषय सार्वजनिक गरेका थिए । सोही पोस्टमा उनले आफूलाई धम्की दिने व्यक्तिहरू रास्वपाका समर्थक भएको आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन्, ‘आफ्नै समर्थकले यस्तो धम्की दिँदा सरकारले कारबाही गर्छ कि गर्दैन रु’
साम्पाङका अनुसार आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका बेला यस प्रकारको धम्की आएको हो । उनले यसलाई राजनीतिक दबाब र डर देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् । ‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाका समर्थकबाट ज्यान लिने र घर जलाउने चेतावनी आएको छ,’ उनले उल्लेख गरेका छन् ।
उनले अनुसन्धान निकायले निष्पक्ष रूपमा काम गर्छ कि गर्दैन भन्ने विषयमा समेत सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । साम्पाङले सरकारप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राज्य संयन्त्र निष्पक्ष रूपमा सञ्चालन नभए देश अराजकतामा जान सक्ने चेतावनी दिएका छन् । ‘यदि सरकार एकपक्षीय रूपमा चल्यो भने देश अराजकताले निल्न सक्छ,’ उनले भनेका छन् ।
राजनीतिक वृत्तमा भने यस घटनाले नयाँ बहस सुरु गरेको छ । एक बहालवाला सांसदमाथि आएको धम्कीले सुरक्षा अवस्था, सामाजिक सञ्जालको दुरुपयोग र राजनीतिक सहिष्णुताबारे गम्भीर प्रश्न उठाएको छ ।
साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिलिप गिरीले साम्पाङको निवेदन दर्ता भइरहेको जानकारी दिए । ‘हर्क साम्पाङले निवेदन दिनु भएको छ । दर्ता भइसकेको छ । अब निवेदन उपर काराही प्रक्रिया सुरु हुन्छ,’ एसपी गिरीले भने ।