कृषिमा आधारित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने

खबर पूर्वाञ्चल, ४ माघ २०७९, बुधबार १८:१६
180
Shares

विराटनगर / प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ ।

कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपी (नेपाल कृषिबजार विकास कार्यक्रम) को साझेदारी तथा प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यमा कृषि उद्यम लक्षित कार्यक्रम सञ्चालन गरिने आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यस कार्यक्रममा संभावना र अवसरका क्षेत्रमा लगानीका मोडलको प्रयोग र प्रवद्र्धन गरिने दावी छ । यसका लागि प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँग अद्यान्त फण्ड म्यानेजमेन्टबीच समझदारी गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले यो कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता बृद्धि गरी लगानी पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताए । प्रदेश १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी भएपनि कृषिको औद्योगिकरणका लागि लगानी आकर्षित गरेर संभावनालाई अवसरमा बदल्ने प्रयास गरिने उपाध्यक्ष राउतले बताए ।

कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानी योग्य बनाउन कार्यक्रमले सहयोग गर्ने अद्यान्तका संस्थापक मनोज पौडेलले जानकारी दिए । आवेदक मध्येबाट १० वटा उद्यमीहरुलाई छनौट १२ हप्ताको पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिनेछ ।

यसैगरी संभावना देखिएका कृषि–उद्यमीहरूसँग विज्ञ तथा उद्योगीसँग सम्पर्क गराईने छ । जसले कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्ने लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा.सरोज कोइरालाले बताए । ‘ यस्तो कार्यक्रम यस अगाडी राजधानी केन्द्रीत मात्रै थियो, प्रदेश १ मा अद्यान्तले कार्यक्रम विस्तार गर्नु राम्रो कुरा हो,’ उनले भने, ‘यसले केहि न केहि सुधार गर्ने अपेक्षा लिएका छौं ।’

कार्यक्रमका लागि कृषि उद्यमका क्षेत्रमा क्रियाशिलहरुले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिइएको छ । अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत ईच्छुकलाई आवेदन दिने सुविधा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५