AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट धनकुटाका पत्रकार लम्जेल पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०८२, सोमबार १८:३८
72
Shares
विराटनगर / सूचना अधिकारका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका धनकुटाका पत्रकार हरिबहादुर लम्जेल यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले ७१ औँ स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा लम्जेललाई उक्त पुरस्कार प्रदान गरेको हो । विगत डेढ दशकदेखि जिल्ला तहमा रहेर जनचासोका विषय उजागर गर्दै आएका लम्जेललाई नगद २५ हजार २५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, पुरस्कारका संस्थापक केदारबहादुर बस्नेत तथा महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलगायतले संयुक्त रूपमा सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले लोकतन्त्र सुदृढीकरणमा पत्रकारको भूमिका अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै तथ्यमा आधारित, जिम्मेवार र खोजमूलक पत्रकारितामा जोड दिन आग्रह गरे । ‘प्रदेशको स्थायित्व, सुशासन र विकासका लागि सशक्त पत्रकारिता अपरिहार्य छ,’ उनले भने, ‘सूचना अधिकारको प्रभावकारी कार्यान्वयनले मात्र पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सक्छ ।’

संस्थापक केदारबहादुर बस्नेतले सूचना अधिकारको उपयोगमार्फत नागरिक सशक्तीकरणमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । उनले स्थानीय तहदेखि केन्द्रसम्मका निकायलाई जवाफदेही बनाउन खोजमूलक पत्रकारिता अझ सशक्त हुनुपर्नेमा जोड दिए ।

महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सूचना अधिकारका क्षेत्रमा सक्रिय पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको जानकारी दिँदै आगामी दिनमा यसको दायरा र प्रभाव अझ विस्तार गरिने बताइन् । ‘सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,’ उनले भनिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, कोशी प्रदेशका निवर्तमान अध्यक्ष लीलाबल्लभ घिमिरे, उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हेमा चेम्जोङ, मोरङ उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्रपी अधिकारी, सहसचिव रेवती निरौलालगायतले लोकतन्त्र संस्थागत विकास, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका चुनौतीबारे धारणा राखेका थिए ।

वक्ताहरूले पछिल्लो समय सूचना पहुँचमा देखिएका अवरोध, प्रेसमाथि बढ्दो दबाब तथा डिजिटल युगमा सत्यापनको चुनौतीबारे समेत चिन्ता व्यक्त गरे । सोही अवसरमा महासंघ मोरङले प्रकाशन गरेको नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर