AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार आचार्यमाथि आक्रमण गर्ने अझै पक्राउ परेनन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०८२, शुक्रबार १८:२४
63
Shares
पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने मध्येका युवराज पाठक
विराटनगर / झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पत्रकार अर्जुन आचार्यमाथि भएको साङ्घातिक आक्रमणको १५ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।

किटानी जाहेरी दर्ता भएको दुई साता नाघिसक्दा समेत आरोपीहरू खुलामुलै हिँडिरहनुले सुरक्षा निकायको कार्यक्षमता र नियतमाथि प्रश्न उठेको छ ।

गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवनचोकमा झापा ५ निर्वाचन क्षेत्रमा समाचार संकलन गरिरहेका आचार्यमाथि आक्रमणमा भएको थियो । घटनाको भोलिपल्टै आचार्यले कमल–६ का युवराज पाठकसहित ५ जनाविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ‘अभद्र व्यवहार’ को मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए ।

घटना भएको एक सातासम्म पनि प्रहरीले कसैलाई पक्राउ नगरेपछि नेपाल पत्रकार महासंघ कोशी प्रदेशको नेतृत्वमा गएको टोलीले फागुन १९ गते कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएको थियो । भेटका क्रममा डिआइजी घिमिरेले तत्काल दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन झापा प्रहरीलाई निर्देशन दिएका थिए ।

डिआइजीको निर्देशनपछि पनि ११ दिन बितिसकेको छ, तर झापा प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन । झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूको खोजी भइरहेको बताइन् । “हामीले खोजी कार्यलाई तीव्रता दिएका छौँ, सबै कोणबाट अनुसन्धान भइरहेको छ,’’ उनले भनिन् ।

यसरी भएको थियो आक्रमण
एमालेको घरदैलो अभियानका क्रममा केही महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा मतदान गर्ने बताएका थिए । सोही दृश्यको भिडियो खिचिरहेका आचार्यमाथि फोर्सका सदस्यहरूले मुक्का र बुट प्रहार गरेको पीडित पत्रकारले बताएका छन् । जाहेरीमा उल्लेख भए अनुसार आचार्यलाई अपहरण गर्ने उद्देश्यले बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा जबर्जस्ती चढाउन खोजिएको थियो भने दमक पुगेर ‘थप देखाइदिने’ धम्की समेत दिइएको थियो ।

आक्रमणकारीले आचार्यको मोबाइल र चस्मा समेत लुटेका छन् । आचार्यले आफ्नो लुटिएको सामान फिर्ता, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति र उपचार खर्च भराउन समेत माग गरेका छन् । आचार्य रातोपाटी डटकमको कोशी प्रदेश प्रमुख र विराटनगरबाट प्रकाशित हुने हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन् ।

प्रेस स्वतन्त्रतामाथि नै गम्भीर प्रहार भएको यस घटनाका आरोपी राजनीतिक आवरणमा पक्राउ नपर्नुले दण्डहीनतालाई प्रश्रय मिलेको भन्दै पत्रकार सम्बद्ध संघसंस्थाहरूले ध्यानकर्षण पनि गराएका छन् । त्यसैगरी बिहीबार एमाले नेताहरूसँगको छलफलका क्रममा पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूलाई दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनका लागि आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर