पूर्वाञ्चल खबर
प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने निश्चित भएको छ । रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । ऊ दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा रह्यो । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।
गोरखा–१ र इलाम–१ को अन्तिम परिणाम आएपछि समानुपातिकतर्फको सबै मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतगणना सम्पन्न भए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम विवरण आयोगमा आउने क्रम भने जारी छ । आयोगका अनुसार आज समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना गरिएको छ ।
प्राप्त मत परिणामअनुसार (रास्वपा) ५१ लाख ६७ हजार ४ सय २९ मतसहित अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसले १७ लाख ५७ हजार १ सय मत र नेकपा (एमाले)ले १४ लाख ५३ हजार ७ सय ८९ मत पाएर तेस्रो भएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख १० हजार ४ सय ७९ मत ल्याएको छ ।
यसैगरी, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८ सय ६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख ३० हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । अन्य दलहरू भने समानुपातिक सिटका लागि आवश्यक थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छैनन् ।
मत परिणामका आधारमा समानुपातिकतर्फ सिट बाँडफाँट गर्दा ६ वटा दलले प्रतिनिधिसभामा स्थान पाउने देखिएको छ । सबै दलले प्रत्यक्ष निर्वाचनतर्फ पनि कम्तीमा एक सिट जितेकाले सबैले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछन् ।
समानुपातिक मतका आधारमा रास्वपाले ५७ सिट पाएको छ । कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राप्रपाले ४ सिट प्राप्त गरेको छ।