खबर पूर्वाञ्चल
आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर प्रिया सारडालाई प्रिन्सिपल नियुक्ति गरिएको बुझिएको छ । तर, श्रेष्ठलाई भने प्रिन्सिपलबाट हटाएको कुनै पत्र नदिएको र सोमबार कलेज आउँदा सुरक्षा गार्ड लगाएर संचालकहरुले भित्र प्रवेश गर्न निषेध गरेपछि विरोध भएको हो । कलेजका संचालक समितिका सदस्यहरुले विनाकारण निकालेको आरोप लगाउँदै श्रेष्ठले विरोध जनाए ।
प्रिन्सिपलबाट मौखिक रुपमा हटाएको जानकारी पाएपछि उनले सोमबार विहान कलेज बाहिर गेटमा विरोध जनाएका हुन् ।
कलेज प्रवेशमा रोक लागेपछि श्रेष्ठले गेटमै विरोध प्रदर्शन गरे । उनको विरोधमा विद्यार्थीहरूले समेत साथ दिए । कलेजका सञ्चालकहरूले आफूलाई निकालिएको पत्र समेत नदिई आफ्नो लगानी र चार महिनादेखिको पारिश्रमकि पाउनुपर्ने उनले बताए । कलेजमा शेयर दिने भनेपछि आफूले अहिलेसम्म २५ लाख रुपैयाँ लगानी गरेको उनको भनाई छ । ‘चार महिना अगाडी सेयर पनि दिने भनेर मलाई कलेजको प्रिन्सिपलको जिम्मेवारी दिएर ल्याएको हो । अहिले कक्षा ११ मा चार सय विद्यार्थी नयाँ भर्ना गरेको छु । एक सय विद्यार्थी भएको बेलामा आफूले कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हालेको र अहिले चार सय बढि विद्यार्थी भर्ना भइसकेपछि कलेज नाफामा जान थालेर सञ्चालकहरूले आफूलाई नियतबस निष्कासन गरेको हो,’ उनले भने ।
विद्यार्थी बढेपछि नाफा आफु मात्रै खाने भनेर उनीहरूले षड्यन्त्र पूर्वक रुपमा कलेजबाट निकाल्न खोजेको उनले आरोप छ । ‘कलेजमा चार महिना अगाडी मलाई भित्र्याएपछि मैले पनि पाँच लाख रुपैयाँ प्रिया सारडाको छोराको नाममा दिएको छु । मैले जम्मा कलेजमा २५ लाख रुपैयाँ लगानी गरेको छु । तर पनि मलाई अहिलेसम्म शेयर दिएको छैन,’ उनले भने, ‘चार महिनादेखिको पारिश्रमीक पनि पाएको छुइन् ।’
कलेजमा अहिले दुईवटा प्रिन्सिपल भएको उनले बताए । आफुलाई हटाएको आधरिक पत्र संचालक समितिले नदिएको कारण अहिले पनि आफु रहेको र अर्को व्यापारी प्रदीप सारडाको श्रीमती प्रिया सारडा प्रिन्सिपल भएको भन्दै दुईजना प्रिन्सिपल हुनै नसक्ने बताए । ‘विगतमा पनि व्यवस्थापनले दुईजना प्रिन्सिपललाई अपमानजनक रुपमा निस्कासन गरेको थियो । उनीहरुलाई निकाले जसरी मलार्इ निकाल्न खोजिएको होला । संचालकहरुको त्यो इच्छा कदापि पुरा हुन सक्दैन । मेरो लगानी र पारिश्रमीक फिर्ता दिनुपर्दछ,’ उनले भने ।
प्रिन्सिपल श्रेष्ठलाई निकालिएपछि विद्यार्थीहरूले उनको पक्षमा नाराबाजी समेत गरे ।
कलेज प्रशासनसँग यस विषयमा सञ्चारकर्मीहरूले जानकारी लिन खोज्दा मुल गेटमा खटाइएका सुरक्षागार्डहरूले उनीहरूलाई भेट्न दिएनन् ।
कोबासमा सारडा ग्रुपको ९० प्रतिशत शेयर रहेको बुझिएको छ । यहाँ पाँच जना संचालक रहेका छन् । केही दिन अगाडी श्रेष्ठले कोवास कलेज परिसरमा भाडामा बसेको कन्सलटेन्सी संचालकलाई कुटपिट गरेपछि कलेजको नाम बदनाम भएको भन्दै उनलाई प्रिन्सिपलको जिम्मेवारीबाट हटाएको चर्चा हुने गरेको छ ।