पूर्वाञ्चल खबर

उनले सिटिजन्स बैंकको क्यूआर कोड र बैंक खाता सार्वजनिक गरेर असुली गरेको पाइएको छ । यद्यपि, निर्वाचन प्रयोजनका लागि उक्त बैंकमै खाता खोल्नलाई निर्वाचन आयोगबाट सिफारिस भने लिइसकेकी छन् ।
तर, खाता खालेर त्यसको विवरण भने आयोगमा नबुझाएको पाइएको छ । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगाल कुनै पनि उम्मेदवारले आर्थिक कारोबार गर्नुअघि बैंक खाता खोलेर निर्वाचन आयोगलाई त्यसको विवरण उपलब्ध गराउनुपर्ने बताउँछन् ।
रास्वपा उम्मेदवार रुविनाले सिफारिस लिएर गएको भए पनि खाता खोलेको विवरण आयोगलाई हालसम्म नबुझाएको दंगालको भनाइ छ । ‘उम्मेदवारले आयोगबाट सिफारिस लिएर खोलेको बैंक खातामार्फत पारदर्शी हिसाबले सहयोग माग्न पाउँछन् । तर, कारोबार गर्नुअघि खाताको सबै विवरण आयोगलाई बुझाउनुपर्छ । रुविनाले अहिलेसम्म खाताको विवरण उपलब्ध गराएको जानकारीमा छैन,’ उनले भने ।
उम्मेदवारले निर्वाचन सकिएपछि पनि बैंक ‘स्टेटमेन्ट’सहित आयोगलाई निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने उनले बताए । खाता र खर्चको विवरण समयभित्रै नबुझाउनेलाई आयोगले जरिबानालगायतका कारबाही गर्ने दंगालको भनाइ छ । ‘उम्मेदवारले खाताको विवरण आयोगलाई नदिइकन आर्थिक कारोबार गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हो । त्यहाँ पारदर्शिता र जवाफदेहिताको प्रश्न पनि उठ्छ । रुविनाले बैंक खाता खोलेको विषयमा आयोग अनभिज्ञ छ,’ उनी भन्छन् ।
आयोगलाई जानकारी नदिइकन सामाजिक सञ्जालमार्फत क्यूआर कोड र बैंक खाता सार्वजनिक गरेर रकम सहयोगका नाममा सर्वसाधारणसँग रकम माग्नु नैतिकताको प्रश्न पनि उठ्ने दंगालले बताए । निर्वाचन आयोगले चुनावलाई पारदर्शी बनाउन उम्मेदवारले बैंक खातामार्फत मात्रै खर्च गर्नुपर्ने, नगद सहयोग लिँदा अनिवार्य रसिद दिनुपर्ने, खर्चका लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
तर, रुविनाले चुनाव जित्न आफूलाई पैसा चाहिएको भन्दै चुनाव चिन्ह ‘घण्टी’सहितको तस्बिर राखेर मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने गरी सामाजिक सञ्जालमार्फत चन्दा सहयोग गर्न आह्वान गरेकी हुन् । यस प्रकरणले उनको आर्थिक पारदर्शितामाथि प्रश्न उठाएको छ ।
‘उम्मेदवारले भोट पनि मागे, पैसा पनि माग्छन्’ भन्ने भाष्य सार्वजनिक रूपमा स्थापित गरिदिएकी छन् । यस विषयमा बुझ्न खोज्दा रुविना सम्पर्कमा आउन चाहिनन् । बारम्बार गरेको फोन उठाइनन् ।
उनका पति प्रदीप उप्रेती निर्वाचन परिचालन र व्यवस्थापनको काममा सक्रिय छन् । रुविनाका चुनावी कमाण्डर रहेका पति प्रदीपले चुनाव पैसाको अभाव रहेकाले मितव्ययी ढंगले खर्च गरिएको तथा आर्थिक पारदर्शिता कायम गरिएको बताए । ‘सामाजिक सञ्जालमार्फत सहयोग माग्दा २० हजार रुपैयाँ पनि उठेन । सबैतिरबाट विरोध भएपछि त्यसलाई हटाइसक्यौं,’ उनले भने, ‘बरु पार्टीकै नेता कार्यकर्ताबाट सहयोग लिएर चुनावी अभियान सञ्चालन गरियो । कसले गाडी, कसैले झन्डा र कसैले साउण्ड सिस्टम सहयोग गर्नु भयो ।’
उनले बैंक खाताको विवरण आयोगलाई उपलब्ध गराइसकिएको पनि बताए । ‘मैले खाता खोल्ने सिफारिसका लागि जोसँग सम्पर्क गरेको थिएँ, उहाँलाई नै खाताको विवरण उपलब्ध गराइसकेको छु,’ प्रदीप भन्छन् । अर्कोतर्फ पार्टीभित्रै केही पुराना नेता कार्यकर्ता चुनावी अभियानमा पतिलाई प्राथमिकतामा राखेर अघि बढेको भन्दै रुविनाप्रति रुष्ट बनेका छन् ।
उम्मेदवार बनेको व्यक्तिले आम सर्वसाधारणसँग सार्वजनिक रुपले खुलेआम रुपमा पैसा माग्नुले राजनीतिक नैतिकता र आर्थिक चरित्रको शुद्धतामाथि पनि प्रश्न उठ्ने राजनीतिक विश्लेषक नवराज पाण्डेको भनाइ छ । ‘विगतमा पनि उम्मेदवारहरुले अनधिकृत रुपमा व्यक्ति, समूह र संस्थासँग सहयोग माग्थे । यसपटक त्यसलाई व्यवस्थित गर्न र उम्मेदवारले गरेको खर्चको वैधता मापन गर्न आयोगले उम्मेदवारलाई अनिवार्य बैंक खाताको विधि अपनाएको हो,’ उनी भन्छन्, ‘आयोगले बनाएको राम्रो नियमको पालना नगर्नुपर्ने कुनै कारण छैन । उम्मेदवारकै आर्थिक पारदर्शिताको पाटोमा प्रश्न उठ्दैन ।’
तर, आफ्नै राजनीतिक साख जोगाउने विधिमा ध्यान नदिनु उम्मेदवारको कमजोरी भएको पाण्डेको भनाइ छ । त्यसलाई उम्मेदवारको आर्थिक पारदर्शिताको प्रतिबद्धतामा प्रश्न उठाउने र मतदातालाई शंकाको सुविधा दिने उनले बताए । केही उम्मेदवारले आयोगको नियम मानेको भए पनि केहीले भने ठाडै उल्लंघन गरिरहेको उनी बताउँछन् ।
‘आयोगको नियम नमान्नेले भोलिका दिनमा जनताका कुरा मान्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई आयोगले तत्काल कारबाही गर्नुपर्छ,’ पाण्डे भन्छन्, ‘जवाफदेहिताबाट पर भाग्ने व्यक्तिमा राजनीतिक चरित्र हुन सक्दैन । भोलिमा दिनमा आफूमाथि प्रश्न उठ्दा उत्तरविहीन बन्नुपर्ने अवस्था भोग्नुपर्छ ।’ उम्मेदवार बेलैदेखि पारदर्शी हुन नसक्दा चुनावी भन्दा अन्य प्रयोजनका लागि चन्दा स्वरुप रकम सहयोग लिएको भन्ने अर्थ लाग्ने उनी बताउँछन् ।
यसअघि पनि देशका विभिन्न ठाउँबाट उम्मेदवारहरुले क्यूआर कोड र बैंक खाता सार्वजनिक गरेर पैसा मागेको गुनासो आएको थियो । त्यसलगत्तै निर्वाचन आयोगले ‘एक्सन’ लियो । त्यस्तो गतिविधिले निर्वाचन कसुर गरेको ठहरिने भन्दै आयोगले कतिपय उम्मेदवारलाई स्पष्टीकरण सोधेर कारबाहीसमेत गरेको छ ।
मोरङ–६ मा उम्मेदवार रहेकी रुविनाले आचारसंहिताको उल्लंघन गरेको भन्दै उनको नैतिकता एवं आर्थिक पारदर्शिताको पाटो विवादमा तानिएको छ । पुराना दलहरुले सुरु गरेको गलत राजनीतिक संस्कारको विरोध गर्दै उदाएको पार्टी रास्वपाकै उम्मेदवारले आचारसंहिता उल्लंघन गरेर चन्दा आतंक मच्चाउनु गलत भएको विश्लेषकहरु बताउँछन् । उनीहरुका अनुसार नयाँ भनिएका दलको कार्यशैली, आर्थिक पारदर्शिता, जवाफदेहिता र स्वच्छतामा बेलैदेखि प्रश्न उठिरहेको छ ।
चुनाव प्रचारसँगै चन्दाका लागि अपिल गरेर क्यूआर कोर्ड र बैंक खाता सार्वजनिक गरेपछि आचार्यको सार्वजनिक हिसाबले तीव्र आलोचना भइरहेको छ । ‘देशको विकास र समृद्धिका लागि राजनीति गरेको भन्दा पनि पैसा उठाउनका लागि उम्मेदवारी दिएको’ भनेर मतदाताबाटै उनी आलोचित हुनु परिरहेको हो ।
रास्वपाकै मोरङको निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार गणेश कार्कीले पनि पैसा संकलनका लागि सामाजिक सञ्चाल प्रयोग गरेका थिए । चुनाव जित्न पैसा चाहिएको भन्दै कार्कीले सामाजिक सञ्जालमार्फत चन्दाका लागि सार्वजनिक आह्वान गरेका हुन् । तर, तिनै कार्की आर्थिक पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणको चर्को नारा लगाएर हिँड्ने गरेको अन्य दलका नेता कार्यकर्ता बताउँछन् ।
आचारसंहिता उल्लंघन गरेर काम गर्ने एवं आफैं अपारदर्शितामा डुब्ने उम्मेदवारले पारर्शिता र सुशासनको कुरा गर्न नसुहाएको भनेर चौतर्फी विरोध भइरहेको छ । निर्वाचन आयोगले राखेको सर्तभन्दा बाहिर गएर चुनावमा उम्मेदवारले चन्दा लिन पाउँदैनन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सरोज कोइराला आयोगलाई खाताको विवरणको जानकारी नदिइकन कुनै उम्मेदवारले आर्थिक सहयोग उठाउँछ भने त्यो ठाडै भ्रष्टाचार हुने बताउँछन् । ‘उम्मेदवारले आयोगले तोकेको नियमभन्दा बाहिर गएर कुनै पनि गतिविधि गर्न मिल्दैन र पाउँदैनन्,’ उनले भने ।
मोरङमा १ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ९१ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि आयोगबाट खाता खोल्ने सिफारिस लिएको प्रदेश निर्वाचन अधिकारी दंगालले बताए । उनका अनुसार सिफारिस लगेकामध्ये १९ जनाले मात्रै बैंक खाता खोलेको विवरण आयोगमा उपलब्ध गराएका छन् ।
‘१ सय १० जना उम्मेदवारमध्ये ९१ जनाले बैंक खाताको सिफारिस लिएका थिए । सिफारिस लैजानेमध्ये ७२ जनाले बैंक खाता खोलेको जानकारी आयोगमा दिएका छैनन् । सायद खोलेनन् होला,’ उनले भने । मोरङ–६ मा मात्रै रास्वपाकी आचार्यसहित नेपाली कांग्रेसका डा. शेखर कोइराला, नेकपा (एमाले)का विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।