पूर्वाञ्चल खबर
आजदेखि विराटनगरको आरोहण गुरुकुलमा दुई दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन सुरु गरिएको हो ।
कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे । साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले वर्तमान समयमा विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई सीप र संस्कारसहितको प्रविधियुक्त शिक्षा दिनुपर्नेमा जोड दिए । ‘अहिलेको आवश्यकता गुणस्तरीय शिक्षासँगै संस्कार र प्रविधिको फ्युजन हो,’ उनले भने, ‘विद्यार्थीलाई समाजसापेक्ष र प्रतिस्पर्धी बनाउन संस्कारयुक्त शिक्षा अनिवार्य छ ।’
विद्यालयका प्रिन्सिपल दिनेश ढुङ्गानाले आफ्नो विद्यालयलाई गुणस्तरीय शिक्षाको क्षेत्रमा प्रदेशकै उत्कृष्ट बनाउने लक्ष्यका साथ अघि बढेको बताए । उनले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि संस्कार र प्रविधिलाई विद्यालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिबद्धता जनाए ।
बिहीबार सम्पन्न हुने वार्षिकोत्सवको दोस्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।