पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको पुलचोक क्षेत्रमा दुर्घटना भएको एक निजी स्कोर्पियो गाडीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालका अनुसार दुर्घटनाग्रस्त गाडीको खानतलासी गर्दा भित्र लुकाइराखिएको अवस्थामा ४२० किलो गाँजा बरामद गरिएको हो।
प्रारम्भिक अनुसन्धानबाट उक्त गाडी सुनसरीको बर्जु गाउँपालिकातर्फबाट आएको देखिएको प्रहरीको भनाइ छ। तीव्र गतिका कारण गाडी अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको छ।
प्रहरीले क्रेनको सहायताले गाडीलाई नालाबाट बाहिर निकालेको छ। यति ठूलो परिमाणमा गाँजा तस्करी हुनुमा कुनै संगठित गिरोहको संलग्नता हुनसक्ने आशंका गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
फरार चालकको खोजी भइरहेको र गाडीको नम्बर प्लेटका आधारमा धनीसम्म पुगेर तस्करीको सञ्जाल पत्ता लगाउनेतर्फ प्रहरी केन्द्रित रहेको प्रहरीले जनाएको छ।