AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो हुँदा बालेन सिटि काठमाण्डौ पुछारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०८२, शुक्रबार ०७:५५
216
Shares
विराटनगर / देशका ६ वटा महानगरपालिकाहरूमध्ये कार्यसम्पादन मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका उत्कृष्ट बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार विराटनगर ७८.११ अंक प्राप्त गर्दै पहिलो स्थानमा रहन सफल भएको हो ।

यस मूल्याङ्कनमा काठमाण्डौ महानगरपालिका भने सबैभन्दा कमजोर रहेको छ । काठमाण्डौ महानगरपालिका भने ४४.९७ अंक प्राप्त गर्दै अन्तिम स्थानमा पुगेको छ । आयोगले स्थानीय तहहरूको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता, राजस्व परिचालन र सेवा प्रवाह जस्ता पक्षहरूलाई मुख्य आधार बनाएर यो नतिजा सार्वजनिक गरेको हो ।

आयोगका अनुसार दोस्रो स्थानमा ७६.३३ अंकसहित ललितपुर महानगरपालिका रहेको छ भने तेस्रो स्थानमा ६८.०४ अंकसहित भरतपुर महानगरपालिका छ । पोखरा महानगरपालिका ५८.७६ अंकसहित चौथो, वीरगञ्ज महानगरपालिका ५४ अंकसहित पाँचौं स्थानमा रहेका छन् ।

आयोगले कुल १७ सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरेको हो । जसमा असार १० भित्र बजेट सार्वजनिक गरे–नगरेको, असार मसान्तभित्र बजेट पारित गरेको अवस्था, प्रदेश सरकारलाई बुझाउनुपर्ने घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करको ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे–नगरेकोजस्ता वित्तीय अनुशासनका सूचक समेटिएका छन् ।

त्यस्तै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा पठाए–नपठाएको, कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरे–नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, ‘सूत्र’ सफ्टवेयरको प्रयोगलाई पनि मूल्यांकनको आधार बनाइएको छ ।

शिक्षा तथा स्वास्थ्यतर्फ विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई परीक्षा नतिजा, गर्भ जाँच गराउने महिलाको अनुपात तथा पूर्ण खोप पाएका बालबालिकाको अनुपातसमेत समेटिएको आयोगले जनाएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वित्तीय अनुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधारको निरन्तर प्रयासले सकारात्मक परिणाम दिएको बताए । “हामीले समयमै बजेट तर्जुमा, राजस्व व्यवस्थापन र सामाजिक क्षेत्रका सूचक सुधारलाई प्राथमिकतामा राखेका थियौं,” उनले भने, “यो उपलब्धि कर्मचारी, जनप्रतिनिधि र नागरिकको संयुक्त प्रयासको परिणाम हो । अब ८० अंक कटाउने लक्ष्यसहित काम अगाडि बढाउँछौं ।”

आयोगका अनुसार देशभरिका स्थानीय तहमध्ये ८० अंकभन्दा माथि ल्याउने संख्या जम्मा चार मात्र रहेको छ, जसमा अधिकांश पश्चिम नेपालका स्थानीय तह छन् । महानगरपालिकातर्फ भने ८० अंक कटाउने कुनै पनि महानगर यस वर्ष देखिएको छैन ।

स्थानीय तहको वित्तीय अनुशासन, पारदर्शिता र सेवा प्रवाहको प्रभावकारिता मापन गर्ने उद्देश्यले आयोगले हरेक वर्ष यस्तो मूल्यांकन गर्दै आएको छ । यसपटकको प्रतिवेदनले महानगरहरूबीच कार्यसम्पादनमा उल्लेख्य अन्तर देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर