खबर पूर्वाञ्चल
भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ ।
नेपालको कठिन परीक्षा इंग्ल्याण्डर वेस्ट इन्डिजसँग भिडन्त
नेपाली राष्ट्रिय क्रिकेट टोली यसपटक समूह ‘सी’ मा परेको छ, जसलाई निकै कठिन समूह मानिएको छ। नेपालले यस समूहमा २/२ पटकका टी-२० का विश्वविजेता इंग्ल्याण्ड र वेस्ट इन्डिज जस्ता विश्वस्तरीय टोलीको सामना गर्नुपर्नेछ। साथै, दक्षिण एसियाली छिमेकी बंगलादेश र युरोपेली नव प्रवेशी राष्ट्र इटाली पनि नेपालकै समूहमा छन्।
नेपालको पहिलो खेल विश्वकप अभियानको सुरुवात फेब्रुअरी ८ मा इंग्ल्याण्ड विरुद्धको खेलबाट गर्नेछ। खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । नेपालको सवै खेलहरू मुम्बईमा नै हुनेछन् ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्ने यस प्रतियोगितामा २० टोलीलाई ५/५ टोलीको ४ समूहमा विभाजन गरिएको छ। सन् २०२४ को विश्वकप जस्तै, हरेक समूहका शीर्ष दुई टोली ‘सुपर एट’ चरणमा प्रवेश गर्नेछन्। सुपर एटका खेलहरू फेब्रुअरी २१ देखि मार्च १ सम्म हुनेछन्।
पूर्ण समूह विभाजन यस प्रकार छ
समूह ए मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स, नामिबिया
समूह वी मा श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बावे, ओमान
समूह सि नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली
समूह डि न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, यूएई
फाइनल र सेमिफाइनल
प्रतियोगिताको फाइनल खेल मार्च ८ मा भारतको अहमदाबाद वा श्रीलंकाको कोलम्बोेमा हुनेछ। सेमिफाइनल खेलहरू मुम्बई र कोलकाता या कोलम्बोमा हुने तय गरिएको छ। प्रतियोगिताका खेलहरू भारतको दिल्ली, चेन्नई, मुम्बई, अहमदाबाद, कोलकाता तथा श्रीलंकाको क्याण्डी र कोलम्बोमा खेलाइने छन्।