पूर्वाञ्चल खबर

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई सीप र संस्कारसहितको शिक्षा दिनुपर्नेमा जोड दिए । उनले वर्तमान समयमा व्यावहारिक शिक्षाको आवश्यकता औँल्याउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयको भूमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सल्लाहकार तथा एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले नेपालको शिक्षा प्रणालीलाई आधुनिक विज्ञान र प्रविधिसँग जोड्नुपर्ने धारणा राखे । उनले भने, “अबको शिक्षा सीपमूलक र व्यावहारिक हुनुपर्छ । बेलायत ९यूके० मा दिइने शिक्षा र नेपालमा दिइने शिक्षाको स्तरमा अब भिन्नता हुनु हुँदैन । नेपाल सरकार र स्थानीय सरकारले सोही अनुसारको पाठ्यक्रम विकास गर्न जरुरी छ ।”
शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताउँदै प्रिन्सिपल पुरीले थपे, “यदि हामीले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सकेनौँ भने त्यो ‘डेट एक्सपायर्ड’ (म्याद नाघेको) शिक्षा हुनेछ । अब नेपालमा पनि ‘पढ्दै र कमाउँदै’ को अवधारणा लागू गर्नुपर्छ ।” उनले अष्ट्रेलिया, अमेरिका र जापान जस्ता विकसित देशहरूको उदाहरण दिँदै नेपालका कलेजहरूमा पनि उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताए ।
विनोद ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूले आकर्षक नृत्य, गायन र विभिन्न सांस्कृतिक कलाहरू प्रस्तुत गरेर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत यस विद्यालयको अभिभावक दिवस शनिबार समापन हुने प्रिन्सिपल पुरीले जानकारी दिए । दोस्रो दिन कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूको प्रस्तुति रहने विद्यालयले जनाएको छ ।