खबर पूर्वाञ्चल
विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिद्या घटनास्थलमै पाँच जना कामदारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार सडकको घुम्तीमा तीव्र गतिको ट्रक अनियन्त्रित भई पल्टिएको थियो । उनका अनुसार ट्रकको पछाडि सामानमाथि बसेका ५ जनाको मजदुर टायल र मार्बलले थिचिएर घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाउने पाँचै जना सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् । प्रहरीका अनुसार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।
दुर्घटनाग्रस्त ट्रकमा चालकसहित कुल ९ जना सवार थिए । जसमध्ये ४ जना चालकको क्याबिनमा र ५ जना पछाडि सामानमाथि बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।