बिनु तिम्सिना
विराटनगर, ३१ चैत । नयाँ वर्षको आगमन संगै प्रत्येक वर्ष मनाइने शिरुवा पर्व आज देखि पुर्वी तराईमा सुरु भएको छ ।
तराईका जिल्लामा नयाँ वर्ष बैशाख भरी सिरुवा पर्व मनाइन्छ । मोरङको कटहरी, दादरवैरिया, बेतौना, टकुवा लगायतका क्षेत्रका राजवंशी समुदायले आज सिरुवाको पहिलो दिन कादो सिरुवापर्व भव्य रुपले मनाएका छन् ।
राजवंशी समुदायले वर्षभरीको रिसराग हटेर जाओस भन्दै सामुहिक रुपमा एक अर्काको पिठ्युमा हिलो दल्दै एकअर्कामा हिलो छ्यापाछ्याप गर्दै यो पर्व मनाउने गरेका छन् । राजवंशी संस्कृतिक संरक्षण तथा विकास केन्द्रको आयोजनामा मोरङको कटहरी–३ स्थित ग्रामथानमा युवाहरुले सामुहिक रुपमा कादो शिरुवा पर्व मनाएका हुन् ।
पुस्तौ देखि आफुहरुको समुदायमा सिरुवा पर्व भव्य रुपमा मनाउने गरिएको भएपनि नयाँ पुस्ता पर्व मनाउन छाडेकाले आफुहरुल वर्षेनी सामुहिक रुपमा कार्यक्रमको आयोजना गरेर पर्व मनाउन थालेका केन्द्रका अध्यक्ष पशुराम राजवंशीले वताए ।
नयाँ वर्षको अघिल्लो दिन राजवंशी समुदायले कादो सिरुवा र वैशाख १ गते रंग सिरुवा मनाएर नयाँ वर्षको स्वागत गर्ने गर्दछन । आदिवासी थारु समुदायसंगै राजवंशी, मधेशी लगायतका समुदायले विशेष महत्वका साथ मनाउने सिरुवा मेला सुनसरी र मोरंगको विभिन्न स्थानमा एक महिनासम्म लाग्ने गर्दछ ।