AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल प्रथमसहित सर्वोत्कृष्ट ल्याउँने विद्यार्थीहरूलाई विराटनगरको मेरिल्याण्ड कलेजको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ श्रावण २०८२, बिहीबार १६:३८
1.57k
Shares
नेपाल प्रथम भएकी रिदिमा कठेत सम्मानित हुँदै । तस्वीर : पुष्पराज थपलिया
विराटनगर/ विराटनगरस्थित मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षामा ऐतिहासिक तथा सर्वोत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई भव्यताका साथ सम्मान गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा व्यवस्थापन संकायमा नेपाल प्रथम’ भएका दुई विद्यार्थीसहित उच्च जीपीए ल्याएर कलेजको गौरव बढाउने प्रतिभाहरूलाई कलेजले आज आयोजित एक विशेष समारोहमा पुरस्कृत तथा सम्मानित गरेको हो।

कलेजका अनुसार, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा मेरिल्याण्डका विद्यार्थीहरू राजकुमार यादव र रिदिमा कठेतले व्यवस्थापन संकायमा ३.९६ जीपीए प्राप्त गरी ‘नेपाल प्रथम’ बन्न सफल भएका छन्। यो सफलताले कलेजको शैक्षिक उत्कृष्टतालाई पुनः एकपटक प्रमाणित गरेको छ।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार, यस वर्ष परीक्षामा सहभागी कुल ६५६ जना विद्यार्थीमध्ये १३२ जनाले ३.६१ देखि ३.९६ जीपीए पाएका छन्। त्यसैगरी, २७३ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए र १९३ जनाले २.८० देखि ३.२० जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। यो नतिजाले मेरिल्याण्डलाई देशकै उत्कृष्ट कलेजहरूमध्ये एकको रूपमा स्थापित गरेको प्रिन्सिपल ढकालले बताए।

समारोहलाई सम्बोधन गर्दै प्रिन्सिपल ढकालले भने, ‘हाम्रो कलेजले आफ्नो उत्कृष्टताको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दुई जना नेपाल प्रथम’ सहित समग्रमा देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यो केवल विद्यार्थीको कठोर मिहिनेतले मात्र नभई, शिक्षकहरूको लगनशीलता, प्रभावकारी शैक्षिक योजना र अभिभावकको विश्वासको पनि प्रतिफल हो।’ उनले सबै सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे।

सम्मानित भएपछि बोल्दै उत्कृष्ट छात्रा मानस्वी अधिकारीले आफ्नो सफलताको श्रेय कलेजको शैक्षिक वातावरण र शिक्षकहरूको मार्गदर्शनलाई दिइन्। ‘मेरिल्याण्ड कलेजको अनुशासित वातावरण, अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शन र आफ्नो व्यक्तिगत लगाव नै सफलताको मुख्य सूत्र हो,’ उनले भनिन्, ‘यहाँ सिकाइएका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाएकाले नै आज हामीले यो सफलता हात पारेका हौँ।’

कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुंगेलले विद्यार्थीहरूको सफलताले कलेज परिवार गौरवान्वित भएको बताउँदै उनीहरूको आगामी शैक्षिक यात्रा अझै सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। त्यसैगरी, कलेजका निर्देशक भेषराज पोखरेल र डा. पिके झाले मेरिल्याण्ड कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा कहिल्यै सम्झौता नगरेका कारण आज यो सुखद परिणाम प्राप्त भएको बताए।

विगत लामो समयदेखि व्यवस्थापन संकायमा अब्बल कलेजका रूपमा परिचित मेरिल्याण्डले विद्यार्थी र अभिभावकको बढ्दो मागलाई ध्यानमा राख्दै यसै शैक्षिक सत्रदेखि विज्ञान संकायको पठनपाठन पनि सुरु गरेको छ। कलेज व्यवस्थापनले विज्ञान संकायमा पनि यस्तै उत्कृष्ट नतिजा ल्याउन र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरू पूर्ण रूपमा कटिबद्ध रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर