खबर पूर्वाञ्चल
संक्रमण बढ्न थालेसँगै सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ । पछिल्लो विवरण अनुसार महानगरपालिका क्षेत्रका ४ जनामा संक्रमण पुष्टि भएको छ । जसले संक्रमणको लहर पुनः सक्रिय हुने संकेत मिलेको छ ।
विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विराटनगर–२ का २, ९ र १६ का १–१ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितहरूमा केही सामान्य लक्षण मात्र देखिए पनि समुदायमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको महानगरले जनाएको छ ।
संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले असार २५ र २६ गते अर्थात बुधबार र बिहीबार विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । दीर्घरोगी तथा ५५ वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिने छ । उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकहरूलाई संक्रमणबाट जोगाउन खोप अनिवार्य देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले बताए ।
खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताए । संक्रमण फैलिन नदिन महानगरले ज्वरो, खोकी, नाकबाट पानी बग्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा ढिलो नगरी चिकित्सकको सम्पर्कमा पुग्न सबैमा आग्रह गरेको छ । उनका अनुसार हालसम्म संक्रमितको संख्या कम रहेको भएपनि फेरि सतर्कता र सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । खोप, परीक्षण र व्यवहारगत सतर्कताले नै विराटनगरलाई कोरोनाबाट सुरक्षित बनाउन सकिने डा. यादवको भनाइ छ ।