अनुज सापकोटा
विराटनगर / विराटनगर–१ तीनपैनी स्थित राधाकृष्ण मन्दिर कार्यसमितिले ५६ औं संस्करणको राधाकृष्ण रथयात्रा महोत्सव–२०८१ को तयारीको औपचारिक शुरूवात गरेको छ ।
कृष्ण जन्माष्टमीको भोली पल्ट भदौ ११ गते मंगलबार हुने रथयात्रालाई भव्य, सभ्य एवं अनुशासित बनाउन कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी नेतृत्वको ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिमा मन्दिर कार्यसमिति, व्यवस्थापन समितिका सम्पूर्ण सदस्यसहित धार्मिक, आध्यात्मिक, प्रशासनिक, उद्योगी, व्यवसायी र समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व सहभागी छन् ।
रथयात्रामा कुनै कमि कमजोरी रहन नदिई भव्यता प्रदान गर्न १८ उपसमितिको पनि गठन गरिएको छ । पं. भवानीशंकर निरौलाको संयोजकत्वमा रथका मुख्य सारथी, सुरेश जायसवालको संयोजकत्वमा रथ सञ्चालन तथा झाँकी, आनन्द जाजुको संयोजकत्वमा रथ श्रृंगार, दिपक अग्रवालको संयोजकत्वमा मन्दिर श्रृंगार, मोहन भट्टराईको संयोजकत्वमा सुपरिवेक्षण, मीना जोशीको संयोजकत्वमा प्राथमिक उपचार, दिपक प्रधानको संयोजकत्वमा प्राविधिक, सन्तोष महत ‘स्यान्ट्रो’ को संयोजकत्वमा स्वयं सेवक, अंकित मारूको संयोजकत्वमा प्रसाद व्यवस्थापन, सुनिल साहको संयोजकत्वमा पिउने पानी व्यवस्थापन, मोहनप्रसाद गिरीको संयोजकत्वमा विद्युत व्यवस्थापन, ओमप्रकास राठीको संयोजकत्वमा सडक लोक सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
यस्तै पुनम दाहालको संयोजकत्वमा फोहोर व्यवस्थापन, अभिषेक भट्टराई र सुवास भण्डारीको संयोजकत्वमा सोसल मिडिया विभाग, तारा आचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । सो उपसमितिको सह संयोजकमा पत्रकारत्रय नविन कर्ण, अनुज सापकोटा र प्रेम देवान रहेका छन् । मन्दिर र रथयात्रा सम्बन्धी सम्पूर्ण इतिहास र वर्तमान समेटिएको पुस्तक प्रकाशनका लागि न्यू सृष्टि दैनिकका प्रमुख सम्पादक शंकर खरेलको संयोजकत्वमा अध्ययन तथा अनुसन्धान, लल्कु सहनीको संयोजकत्वमा नगर श्रृंगार, सुजित चेलको संयोजकत्वमा जुवा व्यवस्था उपसमितिको गठन गरिएको छ ।
कार्यसमिति अध्यक्ष रेग्मीले अनावश्यक परिमार्जन नगरी परम्परागत रूपमा नै विगत झैं झाँकी, बाजागाजा, भजनकिर्तनकोसाथ रथयात्रा निकालिने बताए । उनले विगतमा हात्ती, घोडा र हेलिकप्टरलाई सहभागी गराई रथयात्रा गराइएकोमा यसपाली यी सबको संलग्नताको सम्भावना अत्यन्तै न्यून भएको बताए । उनले यस पटकको रथयात्रामा के नयाँ छ ? भन्ने प्रश्न अत्याधिक उठीरहेकोले रेग्मीले भक्तजनबाट नै आफूले गर्न सकिने नयाँ कुराको सुझाव मागेको बताए ।
यसैबीच शुक्रबार राधाकृष्ण मन्दिर परिसरमा साधारण सभा एवं धार्मिक सभा–२०८१ को आयोजना गरिएको थियो । सभामा प्रतिवेदन प्रस्तुत् गर्दै कार्यसमिति सचिव कृष्ण कार्कीले वि.सं. १९८८ मा मन्दिरको स्थापना भएको बताए । उनले मन्दिरको स्थापनाकालदेखि नै संचालनमा रहेको रथयात्राले आम मानिसमा आध्यात्मिक चेतना, विश्वबन्धुत्वको भावना, धार्मिक सहिष्णुता एवं साम्प्रदायिक सदभावको विकास गरेको बताए ।
सभामा धारणा राख्दै कार्यसमिति उपाध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष बाबुराजा ओझा, व्यवस्थापन समिति सदस्य चम्पालाल राठी, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, विष्णुमाया पुस्तकालयका अध्यक्ष केशबप्रसाद गौतम, समाजसेवी श्याम पौडेल र वडा नं. १ का वडाध्यक्ष काजीबहादुर बस्नेतले राधाकृष्ण मन्दिरले एशियाकै दोश्रो ठूलो रथयात्राको आयोजना गरेपनि मन्दिर स्वयं भने भव्यता र विकासमा पछाडि परेको गुनासो गरे । उनीहरूले मन्दिरको व्यापकतालाई विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।
पाञ्चाली स्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले दैनिक अनुष्ठान, व्यवस्थापन र भौतिक संरचना अनिवार्य गरिए मन्दिरको गरिमा बढ्ने बताए । उनले मन्दिरमा भगवानको आराधनाको पक्षलाई घनिभुत पार्नु पर्ने भन्दै दर्शनका लागि आउने प्रत्येक भक्तजनलाई प्रसाद वितरणको व्यवस्था हुनुपर्ने बताए ।