AArya
RUMPUM
animated ellipse animated ellipse

इजरायलमा राजेशको शव, शोकमा सुनसरीको मधुवन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०८०, सोमबार १८:५२
486
Shares
विराटनगर / सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ पट्वारीका २३ वर्षिय राजेशकुमार स्वर्णकारको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ ।

गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी राजेशसहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

कामसँगै अध्ययनका लागि राजेश गत भदौ २६ गते इजरायल पुगेका थिए । त्यहाँ पुगेसँगै काममा लागेका उनी परिवारको सम्पर्कमै थिए । राम्रैसँग दिनहरु गुजारिरहेका थिए । परिवारका साइलो छोरा उनी इजरायल गएसँगै घरमा पनि खुसीको आशा पलाएको थियो । तर दुर्भाग्य गत शनिबारदेखि उनको परिवारसँग सम्पर्क टुट्यो ।

त्यहीबेला इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले भीषण आक्रमण गरेको खबर संसारभर फैलियो । इजरायलमा भएको आक्रमणको खबरसँगै परिवारका सदस्य चिन्तामा परे । उनीसँग परिवारको सम्पर्कको लागि कैयौं प्रयास भयो । तर सम्पर्क हुन सकेन ।

त्यसपछि राजेशका बुवा राजकुमार र आमा कैलाशले शनिवार साँझ छोराको दीर्घायुको कामनासहित पूजा आराधना गर्न घर नजिकको मन्दिरमा पुगे । इजरायलमा हमासले गरेको आक्रमणको खबर सुनेको र छोरासँग पनि सम्पर्क नभएको अवस्थामा चिन्तित बनेका उनीहरूले छोरालाई केही नहोस् भनेर भगवान् पुकारे । तर, दुर्भाग्य मन्दिरबाट फर्किँदै गर्दा छोराको मृत्युको खबर सुन्नुप¥यो, त्यसपछि राजेशको आमाको होसहवास उड्यो ।

‘राजेशको दीर्घायुको कामना गर्दै माइलो विनोद र कान्छा भाइ चन्दनलाई लिएर ममीबुवा साँझमा मन्दिर जानुभएको थियो,’ जेठा दाइ मुकेशले भने, ‘मन्दिरबाट आउँदै गर्दा छिमेकी भाउजूले कान्छो भाइलाई इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको नाम देखाइदिनुभएछ । भाइले राजेश दाइ रहनुभएन भनेपछिबाट आमा त्यसपछि बेहोस हुनुभयो । अहिले त घरमा असाध्यै पीडा छ, गाउँ पूरै शोकमा डुबेको छ ।’

शुक्रवार मात्र जेठा दाजु मुकेशसँग राजेशको कुरा भएको थियो । ‘भाइले होटलमा बस्न भन्यो । २५ सय भाडा लाग्छ भनेको थियो । दाइ, भोलि कुरा गरौंला, अहिले खाना खाने बेला भयो भन्यो । शनिवार यहाँ छुट्टी हुन्छ, अलि लामो गफ गरौंला भनेको थियो,’ मुकेशले गहभरी आसु पार्दै भाइसँग भएको संवाद सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर