पूर्वाञ्चल खबर
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा विराटनगरभित्र सञ्चालित सबै बैंकका प्रमुखहरुले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताए ।
एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहेका नेपाल बैंकर्स एसोसिएन कोशी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियान अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिए । उनले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा बैंकहरुका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बैंकमा आउने सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङस्थलमा सवारी साधन राख्न लगाउने उनको भनाइ थियो । अबदेखि बैंकको कार्यालय सर्दा पार्किङस्थल भएको ठाउँमा मात्रै सर्नुपर्ने उनको धारणा थियो ।
त्यस्तै हिमालयन बैंकका प्रदेश प्रमुख अमृत मल्लले तत्कालका लागि बैंकहरुले आफ्नै पार्किङस्थल बनाउन समस्या रहेको बताए । उनले बैंक छेउछाउ खाली जमिन भए त्यसलाई बैंकहरुले भाडामा लिएर भए पनि पार्किङस्थल बनाउन सक्ने उल्लेख गरे ।
छलफलमा एनआईसी एसिया बैंकका प्रमुख हीरा पौडेल, गरिमा विकास बैंकका प्रमुख सुजित रेग्मी, माछापुच्छे बैंकका उत्सव पराजुलीलगायतले महानगरको अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । महानगरले यसअघि पनि छलफल राखेको थियो । बैंकमा आउने सेवाग्राहीका सवारीका लागि पार्किङको व्यवस्थापन गर्न बैंकहरुलाई महानगरले पत्रचारसमेत गरेको थियो ।
बैंकहरुले पार्किङको व्यवस्थापन नगरेपछि महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा छलफल राखिएको हो । भदौ अन्त्यसम्ममा पार्किङ समस्या समाधानको विकल्पसहित पुनः छलफल गरेर टुंगो लगाउने छलफलमा सहमति भएको थियो ।
मेयर कोइरालाले विराटनगर महानगरमात्रै नभएर प्रदेशको राजधानी पनि भएकाले व्यवस्थित बनाउनु जरुरी रहेको औंल्याए । सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन सकिने धारणा राखे ।
महानगर प्रहरीका राजन पौडेलले महानगरले व्यवस्था गरेको पार्किङस्थलको बारेमा जानकारी दिए । छलफलमा महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित महानगर क्षेत्रभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।