प्रदेश १ को नीति तथा कार्यक्रम बुहमतले पारित

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७८, आईतवार १८:१८

विराटनगर/ प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सत्तारुढ एमालेका दुवै समूहको बलमा आर्थिक वर्ष २०७८–०७९ को नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

एमालेको खनाल–नेपाल समूहले अन्य प्रदेशमा पनि नीति कार्यक्रम पारित गर्न सघाएको छ । नीति कार्यक्रम पारित गर्नकै लागि एमालेले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको थियो । खनाल–नेपाल समूहका नेता भीम आचार्य र कोरोना संक्रमणमा परेका सांसद र मन्त्री पनि बैठकमा सहभागी भएका थिए । कोरोना संक्रमित राज्यमन्त्रीहरु राजकुमार ओझा र कला घले र सांसद सावित्री जोशीलाई अलग्गै राखेर बैठकमा सहभागी गराइएको थियो ।

विपक्षी दलले नीति तथा कार्यक्रम संशोधनसहित पुर्नलेखन गरेर सदनमा पेश गर्न माग गरेका थिए । संशोधनको विषयमा ती दलका सांसदले आजको बैठकमा यसबारेको छलफलमा यस्तो धारणा राखेका हुन् । तीनवटा विपक्षी दलका तीन वटा संशोधन परेकोमा त्यसमाथिको छलफलका क्रममा सांसदले नीति तथा कार्यक्रम गन्जागोल ढंगले आएको, संघ, प्रदेश र स्थानय तहको एकल तथा साझा अधिकारका क्षेत्रहरुको विषय पनि हस्तक्षेप हुने गरी आएको भन्दै पुर्नलेखन गर्न माग गरिएको हो ।

संशोधन कर्ता दल नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले संशोधन प्रस्तावबारेको छलफलमा आर्थिक वृद्धि ६ प्रतिशत भनिएपनि ३ प्रतिशत मात्र हुने देखिएकोले यो संशोधन गर्नुपर्ने बताए । उनले नाराले मात्र विकास हुँदैन बरु कार्यक्रम र योजना माग्छ त्यसैले नीति तथा कार्यक्रममा राखिएका बग्रेल्ती राख्ने तर बजेट तथा योजना नराखेकोले ती पुरा नहुने अवस्था देखिएकोले बजेटमा वितरणमुखी कार्यक्रमभन्दा पनि कार्यान्वयनमुखी हुनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रको तर्फबाट राखिएको संशोधनको विषयमा सांसद मोहन खड्काले प्रदेशसभालाई छल्ने र जिम्मेवारीबाट सरकार भाग्ने क्रम चलिरहेको बताउँदै नीति तथा कार्यक्रमबारे छलफल भईरहँदा एक जना मन्त्रीबाहेक सबै मन्त्रीहरु अन्तरध्यानमा भएको बताए । नीति तथा कार्यक्रम संघ, प्रदेश तथा स्थानीय सरकारको एकल तथा साझा अधिकारको सूची विपरीतसमेत आएको भन्दै उनले अधिकार बाँडफाँडको विपरीत कतिपय बुँदा आएको आरोप लगाए । स्थानीय तहसंग समन्वय नै नगरी उनीहरुसंग सम्बन्धित कार्यक्रम सशर्त ल्याएर थोपर्ने काम भएको आरोप लगाए ।

मुख्यमन्त्री शेरधन राईले विपक्षी दलहरुको संशोधन प्रस्तावलाई सरकारले ग्रहण गर्ने, सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै संशोधन फिर्ता लिन आग्रह गरेका थिए । तर, विपक्षी दलहरुमध्ये काँग्रेस र माओवादी केन्द्रले प्रस्ताव फिर्ता लिन अस्वीकार गरेका थिए । उनीहरुको प्रस्ताव ध्वनी मतले अस्वीकृत भएको थियो । जसपाका नेता जयराम यादवले भने फिर्ता लिएका थिए । प्रदेशसभामा जेठ २७ गते नीति तथा कार्यक्रम पेश गरिएको थियो । नीति तथा कार्यक्रममाथि ३२ जनाले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५