पूर्वाञ्चल खबर
कलेज प्रशासन नियोजित रूपमा लागेर कलेजमा बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीहरूलाई प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराएको आरोप लगाएका छन् ।
विराटनगरमा आज पत्रकार सम्मेलन गरी रुपा न्यौपाने, मनीषा यादव र अन्नयीया भगतले कलेज प्रशासनको लापरबाही र नियत बस रूपमा बीपीएसको सातौँ सेमेस्टरको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराएको आरोप लगाएका हुन् ।
पूर्वाञ्चल विश्व विद्यालयले बीपीएस सातौँ सेमेस्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म भएको थियो । जेठ १ गते प्रकाशित भएको नतिजा अनुसार न्यौपाने र भगत पब्लिक हेल्थ इजिक्स र कनप्रेसीङ पब्लिक हेल्थ म्यानेजमेन्टको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भए । थेउरीमा उनीहरू पास भएका छन् ।
क्याम्पसले उनीहरू विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूको राय बमोजिम प्रयोगात्मक परीक्षा लिने क्रममा गरिएको कोडिङलाई अन्तिम मार्क सिटमा उतार्ने क्रममा त्रुटी भई विद्यार्थीको नतिजामा फरक परेको बताएको छ । तर, अनुत्तीर्ण भएका विद्यार्थीले प्रयोगात्मक परीक्षा लिन आएका बाह्य परीक्षकसँग बुझ्दा कुनै पनि विद्यार्थीलाई फेल हुने गरी मूल्याङ्कन नगरेको विद्यार्थी न्यौपानेले बताइन् । ‘प्रयोगात्मक परीक्षाको अङ्क क्याम्पसले दिने गरेको बाह्य परीक्षकले पनि भनेका छन् । कलेज प्रशासनले पनि आफ्नो गल्ती स्वीकार गरेका छन्,’ पत्रकार सम्मेलनमा न्यौपानेले भनिन, ‘हामी तीन जना विद्यार्थीलाई नियोजित रूपमा प्रयोगात्मक परीक्षामा कम अङ्क दिएर अनुत्तीर्ण गराएका हुन् । ’
कलेजको लापरबाही र नियोजित रूपमा अनुत्तीर्ण गराएकोले कलेज प्रशासनलाई कारबाहीको माग र परीक्षाको नतिजा पुनरावलोकनको लागि विश्व विद्यालयसँग पनि माग गर्ने विद्यार्थीहरूको भनाई छ । ‘कलेजका प्रिन्सिपलले कक्षाकोठामा एक दिन अपशब्द प्रयोग गरेका थिए । त्यसपछि हामीले प्रिन्सिपल सरलाई माफी पनि मगाएका थियौँ,’ उनले भनिन्, ‘त्यही रिसलाई लिएर हामी तीन जना विद्यार्थीलाई नियोजित रूपमा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराएको हो ।’
यता कलेजका प्रिन्सिपल सूर्यनारायण चौधरीले विद्यार्थीलाई अनुत्तीर्ण गराउने कलेजको कुनै हात नहुने बताए । ‘पूर्वाञ्चल विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूबाट प्रयोगात्मक परीक्षा लिने र ग्रेडिङ गरेर अङ्क दिने हो,’ प्रिन्सिपल चौधरीले भने, ‘फेल र पास गराउने यसमा हाम्रो कुनै हात नै हुँदैन ।’