AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सेनाद्वारा ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ महानगरलाई हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७९, आईतवार १८:२३
441
Shares
विराटनगर / नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

विराटनगर–१८ भेडियारीमा आज आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरे ।

दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा भएको संग्रहालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । उनले संग्रहालय निर्माण गरेर महानगरलाई हस्तान्तरण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए ।

मेयर कोइरालाले विराटनगरको दक्षिणी क्षेत्रको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको बताए । उनले संग्रहालयको संरक्षणका लागि स्थानीयवासी पनि लाग्नुपर्नेमा जोड दिए । कोइरालाले दरबार क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण गर्ने बताए । उनले चालु आर्थिक वर्ष विराट राजाको दरबार क्षेत्रको विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी गराए । उनले सो बजेटले घेराबारालगायतका संरचना निर्माण गरिने बताए ।

नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा एक कठ्ठा जग्गामा वि.सं. २०७९ कात्तिक २१ गतेबाट निर्माण कार्य सुरु गरी चार महिनाको अवधिमा उक्त सङ्ग्रहालयको निर्माण कार्य सम्पन्न गरेको थियो ।

सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्राहरु राखिएका छन् । महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किवदन्ती रहेको छ । पाँच पाण्डव र उनीहरुको श्रीमती द्रोपति गुप्तबासको दौरान नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ रहेको छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डबाट संरक्षण गर्दै आइरहेको छ ।

वि.सं. २०२७ नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएपश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो । नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले ऐतिहासिक सङ्ग्राहलय स्थानीय जनताको सम्पत्ति भएको बताए । उनले संग्रहालयको स्थानीयले नै संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए ।उनले नेपाली सेनाले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर