उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उमेदवारी
पूर्वाञ्चल खबर
२२ फाल्गुन २०७३, आईतवार १६:५२
3
Shares
विराटनगर, २२ फागुन / नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका उद्योगी किशोर प्रधानले उमेदवारी घोषणा गरेका छन् ।
उद्योग संगठन मोरङकोतर्फबाट आफ्ना पूर्वअध्यक्षलाई केन्द्रीय वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सार्दै आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान पारित गरेपछि वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा तीव्र हुने भएको छ ।
यसकालागि प्रधानले आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै पूर्व केन्द्रीय अध्यक्षलगायतलाई दाया बाँया राखेर उम्मेदवारी घोषणा गरेका हुन् ।
सामूहिक नेतृत्व शैलीलाई अंगिकार गर्दै सबल र कुशल नेतृत्व दिनका निम्ति किशोर प्रधान योग्य रहेको भन्दै सबै उद्योग वाणिज्य संघहरुको चाहना र भावना अनुसार हाम्रो अभियान, सक्षम नेतृत्व सशक्त संगठन भन्ने नारासहित उमेदवारी घोषणा गरिएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए ।
उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, सुरज वैद्य, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णिकार, केन्द्रीय सदस्य अञ्जन श्रेष्ठलगायत विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।