पूर्वाञ्चल खबर
छारे रोग न्युनिकरण गर्ने उद्देश्यले अस्पतालले शनिबार विहान सचेतनामुलक ¥याली निकालेको हो ।
न्यूरो अस्पताल परिसरबाट निकालिएको ¥याली हस्पिटलचोक,शहिद रंगशाला, जिल्ला प्रशासन चौकबाट मेनरोड, संनसारीमाई स्थान हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमागरि अस्पताल परिसरमै पुगेर समापन भएको थियो ।
प्रभातफेरीका सहभागिले ‘रातो भाले र कालो परेवा चढाएर छारे रोग निको हुँदैन’, ‘छारे रोग देवी देउता रिसाएर लाग्ने रोग होईन’ र ‘औषधि सेवन गरे छारे रोग निको हुन्छ’ लगायतका नारा लेखिएका सचेतनामुलक प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा न्यूरो हेल्थ कलेजका विद्यार्थीहरुका साथै न्यूरो अस्पतालका चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरु सहभागि रहेको थियो ।
छारे रोग औषधि सेवनबाट निको हुने रोग रहेपनि यो रोगका बिषयमा समाजमा ब्याप्त अन्धविश्वास तथा भ्रमहरुका कारण न्युनिकरणमा समस्या देखिएको न्यूरो अस्पतालका न्यूरोलोजिष्ट डाक्टर विरेन्द्रकुमार बिष्टले बताए । ‘यसको उपचार गरे निको हुन्छ,’ डा. विष्टले भने ।
छारे रोग न्युनिकरण गर्ने उद्देश्यले न्यूरो अस्पतालले चैत १३ देखि १८ गतेसम्मका लागि छारे रोग सम्बन्धि निः शुल्क ओपिडि सेवा समेत संचालन गरेको अस्पतालका आउट रिच विभागका कार्यक्रम संयोजक भारत श्रेष्ठले जानकारी दिए । निः शुल्क ओपिडिमा अस्पतालका न्यूरोलोजिष्ट डाक्टर विष्ट सहित, न्यूरो सर्जन डाक्टर यामबहादुर रोक्का र न्यूरो साईक्याट्रिक डाक्टर रंजन थापाले उपचार सेवा दिदै आएका छन् ।
विश्वको १ प्रतिशत जनसंख्यामा यो रोग देखिएको तथ्यांकका आधारमा नेपालमा ३ लाख यो रोगका विरामी हुनसक्ने अनुमान गरिएको छ ।
१० बर्षदेखि १२ बर्ष उमेर समुहका बालबालिकामा यो रोगको प्रभाव बढी देखिएको चिकित्सकहरू बताउँछन् । ३ बर्षसम्म निरन्तर औषधि सेवनबाट यो रोग निको हुने चिकित्सकहरूको भनाई छ ।
न्यूरो अस्पतालले विभिन्न प्रत्येक वर्ष यस्ता सचेतना मुलक कार्यक्रमहरू गर्ने गरेको अस्पतालले जनाएको छ ।