स्ववियु निर्वाचन–२०७३ मा विद्यार्थी संगठनको आ–आफ्नो दाउ ‘जित्नेमा गरौं, नजित्नेमा भाँडौं’
पूर्वाञ्चल खबर
१६ फाल्गुन २०७३, सोमबार १६:४१
3
Shares
विराटनगर, १६ फागुन / त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचनको मिति आउन अब २ दिन मात्रै बाँकी छ । तर, मोरङका महत्वपूर्ण मानिएका तीन क्याम्पसमा अझै मनोनयन दर्ता भएको छैन ।
मधेशी मोर्चामा आवद्ध विद्यार्थी संगठनको अवरोध देखाइँदै भएको ढिलासुस्तीले यहाँका तीन ठूला क्याम्पसमा स्ववियु निर्वाचन हुनेमा आशंका सृर्जना भएको छ । मधेशी विद्यार्थीले गत ११ गतेदेखि गरेको तालाबन्दीका कारण मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस, डिग्री क्याम्पस, नर्सिङ क्याम्पस र नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनको नाममा विराटचौकको सुकुना बहुमुखी क्याम्पसमा ताला बन्दी हुँदा उम्मेदवारी दर्ता हुन सकेको छैन ।
तालाबन्दी हुनुमा तीन विद्यार्थी संगठनकै आ–आफ्नो दाउ रहेको एक अर्काको संगठनलाई आरोप लगाउने गरिएको छ । विराटनगरको महेन्द्र मोरङ, डिग्री र सुकुना क्याम्पसमा विगत भन्दा कमजोर संगठन देखिएको नेविसंघ निर्वाचन नगराउने दाउमा रहेको अनेरास्ववियुका नेता भाष्कर खनालले बताए । आफ्नो पराजय भोग्नुपर्ने डरले अखिल क्रान्तिकारीले विराटचौकको सुकुना क्याम्पसमा अरुलाई उचालेर ताला लगाएको अनेरास्ववियुका नेता खनालले आरोप लगाए ।
यस्तै अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर अगाडि आएपछि विराटनगरको डिग्री क्याम्पसमा चुनावै नभए हुन्थ्यो भन्ने मनसाय नेविसंघले राखेको दुवै संगठनको आरोप छ । यता महेन्द्र मोरङ क्याम्पसमा भने नेविसंघसहित क्याम्पस प्रशासनमिलेर मधेशी मोर्चालाई अगाडि सारेर तालाबन्दी गर्न लगाएको अखिल र अखिल क्रान्तिकारीको दाबी छ ।
‘अखिल क्रान्तिकारीको जित्ने आधार शुनिश्चत भएको कारण महेन्द्र मोरङ क्याम्पसमा ताला लगाइएको हो,’ अखिल (क्रान्तिकारी)का अध्यक्षका उम्मेदवार जिसस न्यौपानेले भने, ‘यसखाले अवरोधले विद्यार्थीले पाउने हक अधिकारलाई कुण्ठित गर्नुको साथै क्याम्पसको शैक्षिक विकासलाई अबरुद्ध पार्छ ।’
यता नेविसंघका नेता हरि भट्टराईले अन्य संगठनको भित्रि कुरा के हो बुझ्न नसकिने तर आफ्नो संगठनले चुनावको पक्षमै काम गर्ने बताए । ‘मधेशी साथीहरुले उठाएका राजनीतिक मुद्दालाई छलफल र सहमतिबाट टुंगो लगाउनु आवश्यक छ,’ भट्टराईले भने, ‘नेविसंघले निर्वाचन भाँड्ने र भाँडीने गरि कुनै गतिविधि गरेको छैन ।’
अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सुमन कालिकोटेले सांगठनिक हिसावले कमजोर हुने संगठनहरुले निर्वाचन भाँड्न लागि परेको आरोप लगाए । उनले आफ्नो संगठनले जे जस्तो परिणाम आएपनि निर्वाचन गर्नुपर्छ भन्ने माग गरेको कारण कुनै पनि आरोप सत्य नहुने बताए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य भाष्कर खनालले जसरी भएपनि निर्धारित मितिमै निर्वाचन गराउनु पर्नेमा जोड दिए । ‘यति लामो समयदेखि स्थगित रहेको स्ववियु निर्वाचन हुन लागिरहेको छ, चुनाव गर्नुपर्छ,’ खनालले भने, ‘आरोप प्रत्यारोपमा लाग्नु भन्दा निर्वाचन कसरी हुन्छ भन्ने विषयमा सोच्नु पर्छ, हामी छलफलमा छौं निर्धारित मितिमै निर्वाचन हुन्छ ।’
महेन्द्र मोरङ क्याम्पसका प्रमुख महेन्द्रनारायण यादवले भने १८ गतेको निर्धारित मितिमा अब निर्वाचन हुन नसक्ने बताए । ‘११ गतेदेखि निर्वाचन समितिको कार्यालय, क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ, काम केही गर्न सकेका छैनौं,’ यादवले भने ‘छलफल र सहमतिबाट सबै सहभागी हुने गरी निर्वाचन गराउन हामी लागिरहेका छौं, अहिले पनि छलफलमै छौं ।’