पूर्वाञ्चल खबर
रक्षा मन्त्री भएर पहिलो पटक गृह जिल्ला आएका डा. रिजालले विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । डा. रिजालले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफूले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताए । उनले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताए ।
नेपाली सेनाको सम्मान र मर्यादालाई विश्व सामु पनि छर्लङ्ग रहेको भन्दै रक्षामन्त्री डा. रिजालले राष्ट्रिय विपतिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिए । नेपाली सेनाको कामबाट विश्व समुदाय सन्तुष्ट रहेको विचार राख्दै रक्षा मन्त्री डा. रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त्त गरे ।
नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छ भन्दा पनि सरकार भर्खरै विस्तार भएको छ र सरकारले आफ्ना काममा गति लिने रक्षा मन्त्री डा. रिजालको भनाई छ । गठबन्धन दलको सहमतिमा सबैको प्रतिनिधित्व हुने गरि मन्त्रीमण्डल बनेको उनले बताए ।
मन्त्रीमण्डल भागबन्डाको विषयमा बाहिर आएको कुराहरूमा सत्यता नभएको बताउँदै रक्षामन्त्री रिजालले सबैको प्रतिनिधित्व हुने गरि मन्त्रीमण्डल बनेको समेत दावी गरे । मुलुकको राजनीतिक परिस्थितिका कारण मन्त्रीमण्डल विस्तारमा केही ढिलाइ भएकाले त्यसलाई अन्यथा लिन नहुने उनले बताए ।