पूर्वाञ्चल खबर
तीन तलामाथिबाट हामफालेर एकैपटक १९ वर्षसम्मका चार जना फरार बनेकामध्ये एक जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सकेको हो । भागेका तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए ।
फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियरा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याईकर्ता रहेका थिए । उनीहरु मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता पक्राउ परेका हुन् ।
फरार भएकामध्ये सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना फरार बनेर सम्पर्कविहीन नै रहेका कारण खोजी जारी राखिएको चौहानले बताए । उनका अनुसार विहानका राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भाग्दै गरेको देखियो ।
फरार हुँदै गर्दा प्रहरीले एक जनालाई पक्राउ गर्न सके पनि अरु तीन जना उम्कन सफल भएर सम्पर्कविहीन बनेका हुन् । भागेकामध्ये दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका अभियुक्त हुन् । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
पाँच वर्ष कैद सुनाइएका बालविज्याईश्वरी कर्ता सजाय भुक्तान गरिसकेर २०७९ सालमा छुट्दै थिए । फरार भएकामध्ये एक जनालाई भने विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि सुधारगृहमा ल्याएर राखिएको थियो ।
प्रहरीको सहयोगमा भागेका तीनै जनाको खोजी तीव्र पारिएको चौहानको भनाइ छ । गृहबाट हामफालेर भागेका सबै जनालाई दोस्रो भेरियन्टपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले उपचारका लागि आइसोलेसन भर्ना गरिएको थियो ।
उपचार गराएर कोरोनामुक्त हुँदै केही दिनअघि फर्किएका उनीहरुलाई स्वास्थ्य सुरक्षाका दृष्टिकोणले बालसुधार गृहको छुट्टै हलमा राखिएको थियो । हलमा सङ्क्रमणमुक्त भएका २२ जनालाई राखिएको थियो । तीमध्ये चार जना भने फरार बनेका हुन् ।
‘भाग्ने उदेश्यले बालसुधार गृहको तीन तलामाथिबाट हामफालेका चार जना गृहको कम्पाउण्डभन्दा पारिपट्टी पुगेछन् । उनीहरुबीच आपसी सल्लाह गरेर नै फरार हुने योजना बनेको पाइएको छ,’ गृहका प्रमुख चौहानले भने, ‘भाग्दाभाग्दै गरेको देखेपछि होहल्ला गरेर एक जनालाई तत्कालै पक्राउ गर्न सकियो । अरु तीन जना अझैसम्म भेटिएका छैनन् ।’
चौहानले कोरोनामुक्त भएपछि तत्काललाई छुट्टै हलमा राखिएको अवस्थामा गृहको कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालविज्याईकर्ता भागेको बताए । यस घटनामा सुधारगृह र प्रहरी कसैको पनि कमजोरी नरहेको उनको भनाइ छ ।
बालसुधार गृहबाट बालविज्याइँकर्ता फरार भएको घटनाको मोरङ प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । भागेकाको खोजी तीव्र बनाएर गृहको सुरक्षामा खटिएका प्रहरीसँग घटनाका बारेमा आवश्यक सोधपुछ गर्दै अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहमा राखिएका बालविज्याइँकर्ता एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।