खबर पूर्वाञ्चल
कोरोना भाइरस सङ्क्रमण दर उच्च रहेको भारततिर लैजाँदै गरेको अवस्थामा मोरङको रतुवामाईबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा इन्धन नियन्त्रणमा लिएपछि तस्करी हुने गरेको पुष्टि भएको हो ।
सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ बाट २३ ड्रमबाट ५ हजार ७ सय लिटर डिजेल र १ ड्मबाट १ सय लिटर पेट्रोल आज विहान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले डिजेल सहित डिजेल बोकेको मे१ख १५०९ नम्बरको ट्रक बरामद गरेको थियो । नेपाल आयल निगम र पेट्रोलपम्प सञ्चालकबीचको मिलेमतोमा इन्धन भारततर्फ तस्करी गरेको खुलेको छ ।
एउटा ड्रमभित्र लगभग दुई सय ५० लिटर डिजेल छ । २३ वटा ड्रममा डिजेल मात्रै पाँच हजार सात सय लिटरजति रहेको जानकारी सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलले दिए । एउटा मात्रै ड्रममा बरामद भएको पेट्रोल भने एक सय लिटरजति रहेको उनको भनाइ छ ।
प्रहरी उपरीक्षक पौडेलले ड्रममा डिजेल भरेर मिनीट्रकमा हालेर भारततर्फ लैजान लाग्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । डिजेल र गाडी भोली विराटनगर भन्सारमा बुझाइने जनाइएको छ ।