खबर पूर्वाञ्चल
जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले बिर्तामोड नगरपालिका १०, विराटपोखरस्थित आफन्तको घरबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, एसपी सुमनकुमार तिम्सिनाले विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पौडेललाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गर्न सफल भएको जानकारी दिए । उनी बुधबार झुम्का कारागारबाट भागेका थिए ।
एसपी तिम्सिनाका अनुसार, पौडेल जबरजस्ती करणीको कसुरमा १३ वर्ष कैद सजाय पाएका कैदी हुन् । उनले हालसम्म एक वर्ष कैद भुक्तान गरिसकेका थिए । पक्राउ परेका पौडेललाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
कारागार जस्तो उच्च सुरक्षा घेराबाट कैदी भागेको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो, तर प्रहरीले छोटो समयमै उनलाई पुनः पक्राउ गर्न सफल भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।