खबर पूर्वाञ्चल
आज विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिले पहिलेदेखि नै संविधान र गणतन्त्रलाई समाप्त पार्ने प्रयास गरिरहेको र शुक्रबार मध्यरातको कदम त्यसकै निरन्तरता भएको स्पष्ट पारे । राष्ट्रपतिसँग मिलेमतो गरेर प्रधानमन्त्री आफू सर्बेसर्व बनेर सत्ताकब्जा गरी एकतन्त्रीय शासन लगाएर अगाडि बढ्ने प्रयत्नमा लागेको कोइरालाको आरोप छ ।
सत्ताकब्जा गरेर घोषणा गरिने निर्वाचनको कुनै औचित्य नभएकाले कात्तिक र मंसिरमा घोषणा गरिएको निर्वाचन हुने आधार र सम्भावना नभएको कोइरालाले स्पष्ट पारे । कोइरालाले हालका प्रधानमन्त्री र राष्ट्रपति पदमा रहुन्जेल निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै राष्ट्रपतिले पदको मर्यादालाई समेत ख्याल नगरेको टिप्पणी गरे । कोइरालाले ओलीको नेतृत्वमा निर्वाचन आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पार्दै ओलीबाट निष्पक्ष निर्वाचन हुन सक्दैन भनेर अन्तर्राष्ट्रिय समुदायलाई पनि सम्झाउने बताए ।