खबर पूर्वाञ्चल
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार े भजनलाल सहनीकी छोरीको विवाहमा शुक्रबार राति साढे ११ बजे तिर झडप भएको हो। विवाहको कार्यक्रम चलिरहेको बेला डिजेमा नाच्ने क्रममा विवाद सुरु भई दोहोरो झडपमा परिणत भएको थियो।
मदिरा सेवन गरेका जन्ती पक्ष र स्थानीय घरगाउँलेबीच विवाद चर्किँदा झडप भएको प्रहरीको भनाइ छ। झडपमा परेर धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्षका हुन् भने अन्य तीन जना जन्ती हुन्। सबै घाइतेलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो। तीमध्ये तीन जनाको टाउकोमा चोट लागेको छ र टाँका लगाइएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको र केही उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ।
विवाह स्थलमा कुर्सी तथा मण्डपसमेत तोडफोड गरिएको थियो। झडपपछि वातावरण तनावग्रस्त बनेपछि बेहुलीलाई तत्काल अन्माएर पठाइएको थियो। जन्तीहरु राति करिब १ बजे बेहुला–बेहुली लिएर विराटनगर फर्किएका थिए। प्रहरीले जन्ती फर्कने क्रममा लामो दूरीसम्म सुरक्षा दिइएको जनाएको छ।
झडपमा संलग्न व्यक्तिहरुको पहिचान प्रक्रिया जारी रहेको र घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय रंगेलीले गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन्।