कुलमानको प्रश्नः जनतालाई अन्धकारमा राख्नु राष्ट्रवाद हो ?
पूर्वाञ्चल खबर
२४ माघ २०७३, सोमबार २१:१०
3
Shares
काठमाडौं । काठमाडौंसँगै पोखरालाई लोडसेडिङ मुक्त बनाएपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ प्रसंसाको पात्र बनेका छन् ।तर, पनि भारतबाट आयात गरेर लोडसेडिङ अन्त्य गरेको, कुलेखानीको पानी छिट्टै सकाउन खोजेको र यो दिगो नहुने जस्ता तर्क गर्नेहरु पनि छन् ।
प्राधिकरण प्रमुख घिसिङले सोमबार उद्योगव् व्यवसायीहरुको कार्यक्रममा यसको जवाफ दिएका छन् ।उनका अनुसार गत वर्ष भन्दा २५ मेगावाट मात्र बढी विद्युत भारतबाट आयात भइरहेको छ । गत वर्ष भारतबाट ३४५ मेगावाटसम्म विद्युत आयात गरिएको पाइएको छ । जुन यो वर्ष ३७० मेगावाट पुगेको छ । तर, गत वर्ष १२ घन्टासम्म रहेको लोडसेडिङ अहिले शुन्यमा झारेको छ । काठमाडौं र पोखरामा लोसेडिङ मुक्त भइसकेको छ भने उद्योग र अन्यत्र केही घन्टा लोडसेडिङ छ ।
भारतबाट विद्युत आयात गरेकैले परनिर्भर भयौं भन्नेसम्म सुनेको भन्दैप्राधिकरण म्रमुख घिसिङले भने, ‘विद्युत बाल्न पाउनु जनताको अधिकार हो । विद्युत बाल्नु राष्ट्रियता हो कि जनतालाई अन्धकारमा राख्नु राष्ट्रवादी हो ?’
उनका अनुसार विद्युत प्राधिकरणले आफैंले ३५० मेगावाट उत्पादन गरिरहेको छ भने निजी विद्युत उत्पादक कम्पनीहरुबाट १५० मेगावाट किन्ने गरिएको छ ।
भारतबाट आयात गरेको विजुली सस्तो !
कतिपयले भारतबाट महंगोमा विद्युत आयात गरेको आरोप पनि लगाएका छन् । तर, प्राधिकरण प्रमुख घिसिङ त्यसलाई ठाडै अस्वीकार गर्छन् । विद्युत प्राधिकरणले सुख्यायाममा निजी विद्युत उत्पादकबाट ८ रुपैयाँ ४० पैसा तिर्नुपर्छ ।
तर, भारतबाट आयात भइरहेको विद्युतको मूल्य ३ रुपैयाँ ६० र ३ रुपैयाँ ४४ पैसा भारु छ । पिक आवरमा ल्याइने विद्युतको मूल्य भने ५ रुपैयाँ ४० पैसा भारु पर्छ । घिसिङले भने, यो विजुली भनेको महंगो होइन । अहिले निजी क्षेत्रलाई ८ रुपैयाँ ४० पैसा तिर्नुपर्छ । किनकी यो सुख्खायाम हो । भारतबाट ल्याएको ३ रुपैयाँ ६० पैसा भारु भनेको ५ रुपैयाँ ७० पैसा जति पर्छ ।’
साथै उनले भारतबाट विद्युत आयात गर्नुलाई धेरै नाकारात्मक रुपमा नबुझ्न आग्रह गरे । लोडसेडिङ समस्या समाधानका लागि जलाशययुक्त आयोजना चाहिने र यो आजको भोलि सम्भव नहुने भन्दै उनले भने, आज उद्योगले वत्ति पाएन भने के हुन्छ ?’
यद्यपि भारतबाट आयात गर्ने अल्पकालीन मात्र भएको भन्दै उनले जलाशययुक्त लगायतका दीर्घकालीन आयोजनामा काम भइरहेको जानकारी दिए । हालै मात्रै विद्युत प्राधिकरणले भारतबाट बिद्युत आयात गर्ने खिम्ती ढल्केबर प्रसारण लाइनको चार्ज गरेको छ । यसको निर्माणका क्रममा पछिल्लो समयमा १५ दिनमा ३ वटासम्म टावर उठाएको उनले जानकारी दिए ।