पूर्वाञ्चल खबर
प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित समारोहमा उनले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम द्रूतगतिमा कार्यान्वयन गर्ने कुरामा जोड दिए ।
विकास निर्माणका कामहरु द्रूतगतिमा अगाडि बढिरहेको बेलामा कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले गएको चैत ११ देखि देशव्यापी रुपमा बन्दाबन्दीको घोषणाले आर्थिक विकासका समग्र गतिविधि र अभियानमा ठूलो गतिरोध उत्पन्न भएको चर्चा गर्दै मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास निर्माणका कामहरु, शिक्षा, स्वास्थ्य, समाज कल्याणजस्ता सामाजिक विकासका कामहरु, कृषि, उद्योग, पर्यटन जस्ता गतिविधिहरु, सुरक्षा बन्दोबस्तीका तयारीहरु आदि सबै क्षेत्रमा कोभिड–१९का कारण प्रतिकूल परिस्थितिका बाबजुद पनि निकै उत्साहजनक प्रगति हासिल गरेको बताए ।
मुख्यमन्त्री राईले नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षसँग तादात्म्य मिलाउँदै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी आम जनताको समृद्धि र समुन्नतिको आकांक्षालाई आत्मसास गर्दै दृढ संकल्पका साथ अघि बढिरहेको धारणा राख्दै सरकार जनमुखी भई चुस्त सेवा प्रवाह गर्न तथा पारदर्शी एवं जवाफदेहितायुक्त्त सुशासन प्रवद्र्धन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री शेरधन राईले बिगत दुई वर्षलाई महत्वपूर्ण आधार र संरचनाहरु तयार गर्ने अवसरको रुपमा प्रयोग गरिएको बताए । उनले असहजताका बावजुद प्रदेश सरकार सही बाटोमा र सकारात्मक ठोस उपलव्धिहरुका साथ अघि बढेको समेत बताए ।
मूख्यमन्त्री राईले ४९ वटा ऐन, २४ वटा नियमावली, २८ वटा कार्यविधि, १० वटा निर्देशिका, १–१ वटा मापदण्ड र गठन आदेश गरी जम्मा गरी जम्मा १ सय २३ वटा कानुन निर्माण गर्न प्रदेश सरकार सफल भएको बताए । कानुनी वातावरण बनाउने, कानुनी संरचना तयार गर्ने सन्दर्भमा उत्कृष्ट उपलव्धि भएको उनले बताउनुभयो ।
मुख्यमन्त्री राईले खानेपानी आयोजना १ सय १५ वटा, जनता आवास कार्यक्रम अन्तर्गत ४ हजार ८७४ वटा घरको लागि सम्झौता भएकोमा ३ हजार ४ सय वटा घरहरुको निर्माण कार्य पुरा हुने चरणमा रहेको बताए ।