पूर्वाञ्चल खबर
विराटनगरस्थित विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा तीन दिनका लागि सुरु भएको प्रशिक्षणमा २३ खेलाडी रहेकाछन् । मोरङ, सुनसरी, झापा र ईलामबाट चयन भएका खेलाडीबाट अन्तिम १४ जनाको टोली तयार हुने छनोट समितिका सदस्य राजकुमार प्रधानले जानकारी दिए । मंगलबार सम्पन्न हुने बन्द प्रशिक्षणमा मोरङबाट १०, सुनसरीबाट ६, झापाबाट ५ र ईलामबाट २ जना खेलाडी रहेको प्रधानले बताए।
ब्याटिङ र स्पिनर नै मुख्य हतियार हुने गरि टोली तयार भइरहेको बताएका छनोट समिति सदस्य प्रधानले टोली तयारका लागि समय अपुग रहेको गुनासो गरे । विगतमा कमजोर आंकिएको प्रदेशको ब्याटिङ तालिकामा यसपटक धेरै सुधारसहित टोली बलियो हुने प्रधानको दाबी रहेको छ ।
त्यसैगरि, पाँचवर्ष अघि घरेलु टोली जर्सीविरुद्ध आइसीसी विश्व ट्वेन्टी ट्वेन्टी छनोटका क्रममा हेलिकप्टर प्रहारबाट चर्चा कमाएका सिद्धान्त लोहनी भने बन्द प्रशिक्षणको समय कम भएको गुनासो गर्छन् । माघ २ गतेबाट काठमाडौंमा सुरु हुने पिएम कपका लागि तीन दिनको बन्द प्रशिक्षण खेलाडीका लागि कम हुने बताएका लोहनीले प्रतियोगितामा शतप्रतिशत नतिजा दिन सकिने उल्लेख गरे ।
राष्ट्रियस्तर र नयाँ खेलाडीबीचको मिश्रणले टोली बलियो हुने दाबी गरेका २४ वर्षीय लोहनीले ब्याटिङ र बलिङ पक्ष प्रदेशको हतियार हुने जानकारी दिए ।
तीन दिने बन्द प्रशिक्षणका लागि विराटनगर एकेडेमीका सञ्चालक अभिषेक श्रेष्ठले प्रदेश टोलीको अभ्यासका लागि स्थान निःशुल्क उपलब्ध गराएको जानकारी दिए ।
प्रतियोगितामा बलियो टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी र कर्णाली प्रदेशसंग प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछ । यसक्रममा प्रदेश १ को टोलीले समूहमा आफ्नो पहिलो खेल माघ ३ गते सशस्त्र प्रहरी बलको टोलीविरुद्ध खेल्नेछ ।
काठमाडौंको मुलपानी र कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता माघ २ देखि १७ गते सम्म हुनेछ ।
यसअघि दाङको लमहीमा सम्पन्न प्रतियोगिताको महिलातर्फको उपाधि प्रदेश १ ले चुमेको थियो ।